कांग्रेस नेता बिमलेन्द्र निधिले सार्वजनिक गरे आफ्ना चार कार्ययोजना

डिसी नेपाल
१५ फागुन २०८२ ११:१८
28
Shares

जनकपुर। नेपाली कांग्रेसका नेता एव् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिमलेन्द्र निधिले आफ्ना चारवटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन्।

शुक्रबार जनकपुरधामस्थित नीजि निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले आफू निर्वाचित भएमा मुख्य चारवटा कामहरु गर्ने बताए। उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीनवटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको जानकारी दिए।

नेता निधिले धनुषाका दक्षिणी ग्रामीण भेगका सर्वसाधारणहरुलाई सदरमुकाम जनकपुरधाम आएर उपचार गराउने झन्झटलाई अन्त्य गर्नका निम्ति तीन वटा स्थानमा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल बनाउने योजना ल्याएको बताए।

त्यस्तै उनले धनुषाका किसानहरुका लागि मल कारखाना खोल्ने जानकारी दिए। उनले किसानहरुको मुख्य समस्या समयमा मल उपलब्ध नहुनु रहेकाले यस क्षेत्रमा एउटा मल कारखाना खोल्ने बताए।

उनले यसबाट युवाहरुका लागि रोजगार पनि सृजना हुने बताए। त्यस्तै, वर्षौदेखि अलपत्र रहेको श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम पनि अगाडि बढाएर सम्पन्न गर्ने योजना उनको रहेको जानकारी दिए। उनले सम्पूर्ण कार्य पूरा भइसकेपनि केही कार्यहरुमात्र बाँकी रहेकाले आफू निर्वाचित भए रंगशालाको काम सम्पन्न गर्ने बताए।

त्यस्तै, उनले धनुषाको धनुषाधामा रहेको धनुष मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने आफ्नो योजना रहेको जानकारी दिए। उनले रामायणकालिन इतिहास जिवन्त राख्न धनुष मन्दिरलाई जानकी मन्दिर र अयोध्या जस्तै विकास गर्ने लक्ष्य लिएको बताए। उनले धनुषाधाम अन्तराष्ट्रिय पर्यटकहरुको गन्तव्य हुनेमा कुनै शंका नरहेको बताए।

नेता निधिले नेपाली कांग्रेसले विगतमा धनुषावासीका लागि गरेको कामहरु यस भेगका जनताले मूल्यांकन गर्ने र फेरि पनि आफूलाई जिताउनेमा विश्वस्त रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.