नेपालमा सामाजिक तथा राजनैतिक जागरण

अन्तिम भाग : अब नहोस् काले काले मिलेर खाउँ भाले

कपिल लोहनी
१६ फागुन २०८२ ७:४८
60
Shares

आजभन्दा ५० वर्ष अघि लेकाली समूहका हिरण्य भोजपुरे र गणेश रसिकले एउटा निकै ठट्यौलो तर गहिरो माने लाग्ने लोकगीत गाएका थिए। त्यसको बोल थियो ‘दाइ त काले भाइ पनि काले, काले काले मिलेर खाउँ भाले’।

त्यतिबेला जे अर्थ लागे पनि नेपालको राजनीतिमा सधैँ नै काले काले मिलेर भाले खाने र जनता भने वाल्ल परेर हेरीरहने नै अवस्था बनिरहने गरेको छ। हाल आएर त यो कुराले झनै सार्थकता पाएको छ।

एक प्रकारले ‘काले काले मिलेर खाउँ भाले’ भनेझैं त्यतिबेलादेखि नै मुलुकलाई अनेक प्रकारले दोहन गर्ने र बाँडीचुँडी खाने कार्य हुन थालेको थियो। २०२८ सालको झापा विद्रोहबाट राजनीति शुरु गरेका माले र एमाले हुन् वा २०५१ सालमा माओवादी जनयुद्धको नाममा भूमिगत भएर राजनीति शुरु गरेका माओवादी नै किन नहुन्, यी सब कालान्तरमा मुलुक कै सबैभन्दा भ्रष्ट र अराजकतावादी तत्व भएर चिनिन थाले।

झापा विद्रोहको नाममा जमीनदारहरूको विभत्स हत्या गरेर क्रान्तिको शंखघोष गर्ने केपीशर्मा ओली आज भ्रष्टाचार र अत्याचारको पर्याय बन्न पुगेका छन्। जेनजी आन्दोलन पछि पतन भएका उनको घमण्ड र दम्भ अझै पनि सकिएको छैन भने उनीबाट ठूलो फाइदा उठाएका झोले नेता र कार्यकर्ताहरू अझै पनि उनको पछि पछि लागिरहेका छन्। हालका दिनमा अन्य कार्यकर्ता भने यिनका हर्कतलाई चिनेर छिन्न भिन्न पनि भएका छन्।

जनतालाई राष्ट्रवादको अफिम खुवाउन माहिर यी ओली र यिनका झुण्डले मुलुकलाई धेरै वर्ष ओझेलमा पारेर लुट्नु लुटे। गिरिजाप्रसादले शुरु गरेको खुलेआम भ्रष्टाचारमा ओलीले इँट थप्ने काम गरे।

पञ्चायतको अवसान हुनु अघिसम्म शरीर ढाक्ने कपडाको समेत अभाव झेलेका कम्युनिष्टहरू विश्व कै महँगा वस्त्र, घडी, र जुत्ता लगाउने तथा महलमा बस्ने र पाँच तारे होटेलमा मात्र खाने र मान्छे भेट्ने हैसियतमा पुगे।

माओवादी जनयुद्धभर भारतमा सुरक्षित भूमिगत जीवन बिताएका अधिकांश माओवादीहरू पनि त्यसरी नै अर्ब-खर्बपति बन्न पुगे। यिनको जनयुद्धको कारण हजारौं जनताले ज्यान गुमाउनु पर्‍यो भने गाउँ गाउँबाट युवाहरू र अन्य हुँदाखाँदा र व्यवसायीहरू भाग्न बाध्य भए।

युवाहरू विदेशमा पलायन हुने क्रमले आकाश छोएको यही बेलामा हो। नेपालको कृषि र उद्यम तहस-नहस हुन थालेको पनि यही बेलादेखि हो। गाउँघर खाली भएर खण्डहर बन्न थाल्यो भने धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरू आगजनी र लुटपाटले ध्वस्त हुन पुगे।

मुलुकमा एक प्रकारको सांस्कृतिक विकृति ल्याएर जनता जनतामा विभाजन गर्ने कामको पनि शुरुवात भयो। एक भएर बसेका नेपालीहरूलाई वर्ण, जात, धर्म र संस्कारको आधारमा अनेक बनाउने खेला उनीहरूबाट नै शुरु भएको हो।

दरवार हत्याकाण्ड पछि निकै कमजोर र बदनाम भएको राजसंस्थालाई जरैदेखि फाल्न यी कम्युनिष्टहरूले गिरिजाप्रसादको काँधमा बन्दुक राखेर पड्काउन शुरु गरे। आखिर पुरै जनताले नचाहँदा नचाहँदै राजतन्त्र र हिन्दूत्वको पतन हुन पुग्यो।

राजसंस्थालाई पाखा लगाउन पाउनु नै लुटतन्त्रमा विश्वास राख्नेहरूको निम्ति एक ठूलो उपलब्धि हुन पुगेको थियो। किनकी एउटा पुरानो संस्थाको पतन पछि पुरै मुलुक उनिहरूको कब्जामा पुगिसकेको थियो।

तर फेरि पनि ब्युँतिने प्रयत्न गर्ला भनेर एक ढिक्का भएर बसेका राजा विरोधी दलहरूले यस्तो गठबन्धनलाई पछिसम्म मुलुक दोहन गर्ने र मिलेर लुट्ने माध्यमको रूपमा कायम राखे भने कांग्रेस जस्तो पुरानो दल पनि यसमा सामेल भयो।

ओली, प्रचण्ड र शेरबहादुर जस्ता त्रिमूर्तिले लगातार पटक पटक मुुलुकको प्रधानमन्त्री बन्ने अवसर पाए भने अन्य नेताले जति नै खुबी भए पनि यिनको भक्ति गरेर बस्दा बस्दै उमेर खेर फाल्न वाध्य भए। तर द्रव्य सञ्चय गर्ने कुरामा भने यी सब दलका तल्ला तप्कासम्मले नै डाक्टरी गरिसकेका थिए।

दोस्रो जनयुद्ध पछि मुलुकमा गणतन्त्र आउनुका साथै संघीय शासन प्रणाली शुरु हुनुका साथै नयाँ सम्बिधान लागू भएकोले अब भने मुलुक ठीक दिशामा जानेछ भन्ने विश्वास पनि बिस्तारै खतम हुँदै गयो। मुलुक झनै नराम्ररी भूराजनीतिक र भ्रष्टाचार तथा बेथितीको भुमरीमा पर्न थाल्यो।

निकै ठूलो इतिहास बोकेको नेपाली कांग्रेसलाई शेरबहादुर दम्पतिले त्यसैगरी भ्रष्टाचार र अराजकताको संघारमा पुर्‍याइदिए। आफ्नी पत्नीलाई परराष्ट्र मन्त्री जस्तो जिम्मेवार पदमा पुर्‍याउन र भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्न पनि लाज नमान्ने शेरबहादुरले उनकै कारण आफ्नो राजनीतिक भविश्य नै अन्धकारमा पारे।

बुढेशकालमा जनताको पिटाइ समेत खानु पर्‍यो उनले। उनको घरमा जनताले भेट्टाएका नेपाली तथा विदेशी नोटका अनगिन्ती बिट्टा देखेर पुरै नेपाल छानाबाट खसेजस्तो अचम्ममा परेको थियो।

भुटानी शरणार्थीको नाममा आरजुले पठाएका नक्कली शरणार्थीहरूले आज विकसित मुलुकका शहरहरूमा घटिया चालचलन देखाएर नेपाल र नेपालीको बेइज्जत गरिरहेका छन् भने असली भुटानी शरणार्थीहरू अझै पनि भापाका क्याम्पहरूमा नै पिल्सिरहेका छन्।

नेपालमा यो समयमा भएका जस्ता सून तस्करी काण्ड विश्वमा कतै पनि भएको सुनिएको छैन। हत्या, लुटपाट, तस्करी र चरम भ्रष्टाचारमा पनि अपराधीले कुनै सजाय भोग्न नपर्ने मुलुक नेपाल मात्र भएको छ। यस्तो दण्डहिनता, अन्याय, अत्याचार र लुटपाटले गर्दा नै नेपाल एक असफल राष्ट्र हुँदै गएको छ।

नेपालको इतिहासमा रानी राज्यलक्ष्मी र रानी ऐश्वर्य पछि बदनामीको शिखरमा पुगेकी महिला यिनै आरजु राणा हुन्। यिनैको कुरामा लागेर पछिल्लो समयमा शेरबहादुरले विभिन्न खालका अपवित्र गठवन्धनमा आफ्नो दलको सहभागिता रहने कुराको फैसला दलका मुख्य नेताहरूसँग सल्लाह नै नगरी गर्दथे।

परिणाम उनी आफैं आफ्नै दलका नयाँ पिँढीबाट बढारिन पुगे। नेपाली कांग्रेसका युवा नेताहरूले यतिसम्मको साहस गरेर भ्रष्ट बुढा नेताहरूलाई पाखा लगाएको कुरा अति नै सह्राहनीय कार्य हो भने अन्य पुराना दलका युवा नेताहरूले भने यस्तो साहस गर्न नसकेर बरु दास र झोले नै भएर रहन मन पराए।

आमनिर्वाचनमा समेत गठवन्धन बनाएर चुनाव लड्ने, पालैपालो प्रधानमन्त्री र मन्त्री बन्ने गरी खुलेआम जनतालाई चुनौती दिएर सरकार बनाउने, प्रशासन र सुरक्षा निकायमा समेत आआफ्ना दलका झोलेहरू हुलेर भर्ने, हुँदा हुँदा राजदूत जस्तो गरिमामयी पदमा पनि आआफ्ना नातागोतालाई नियुक्ति दिएर भागवण्डा गर्ने जस्ता कार्य हुन थाले पछि मुलुकको इज्जत माटोमा नै मिल्न गयो।

आमजनताले जति नै शिक्षा हासिल, अध्ययन र परिश्रम गरे पनि रोजगारी नपाउने अवस्थाको सिर्जना हुन थाल्यो। प्रत्येक दशकमा होलसेलमा लाखौँ विदेशीले नागरिकता पाउन थाले। प्रजातन्त्रको नाममा हिटलरी तानाशाहीको शुरुवात हुन थाल्यो। शान्तिप्रिय जुलुशमा अन्धाधुन्ध गोली चलाउन लगाउने, निरीह जनतालाई गोलीको निशाना बनाउने र दोष जति विपक्षीहरूलाई लगाउने।

नेपालको अश्मिता बेच्न कुनै पनि हिच्किचाहट नगरी सरकार जोगाउनको खातिर नजिकका र टाढाका जोसुकै शक्तिराष्ट्रसँग झुकेर जस्तोसुकै राष्ट्रघाती सन्धि–सम्झौता पनि गर्ने, सबै खालका शक्तिराष्ट्रको रणमैदानको रूपमा नेपालको भूमिको उपभोग गर्न दिने, नेपालमा गरेको चरम भ्रष्टाचारको कमाई विदेशमा लगेर थन्क्याउने काम गर्ने जस्ता अविकसित मुलुकका राजनीतिज्ञ र तानाशाहहरूले गर्ने सम्पूर्ण कुकार्य नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले गर्न थाले।

आज नेपालका तिनै तहका सरकारमा चरम भ्रष्टाचार हावी छ। आमजनताको कुनै पनि काम घुस नदिइ बन्दैन। खुल्लम खुल्ला रूपमा घुस माग्ने चलन सबै सरकारी कार्यालयहरूमा छ। हातमा लालपुर्जा भए पनि त्यो निस्सा अन्तर्गतको जमीन अर्कैको नाममा पुगिसकेको हुन सक्छ। गरिव र आमजनताको निम्ति मुलुकमा कानुन र न्याय समेत हराइसकेको छ।

मानिसको धैर्य गरेर बस्ने कुराको पनि सिमा हुन्छ। हजारौँ र लाखौँ युवाहरू वेरोजगार भएर बसेको समेत सरकारले उपहासपूर्ण रूपमा हेरेर बस्ने र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने तथा सत्ताको रापले महिमत्त भएर बस्नाले नेपालमा मात्र होइन विश्वका धेरै मुलुकलगायत हाम्रा छिमेकी राष्ट्रहरू श्रीलंका र वंगलादेशमा पनि नवयुवाहरू जुर्मुराएर आखिर विस्फोट हुन पुगे।

यसको फलस्वरुप धेरै धनजनको क्षतिसहित मुलुकमा एक विशाल परिवर्तन हुन पुग्यो। त्यस्तो परिवर्तनकारी आन्दोलनभित्र अनेक प्रकारका घुसपैठ पनि हुन गए र ठूलो धनराशीको नोक्सानी पनि भयो। तर पनि युवाहरूको क्रन्दनको अगाडि कसैको केही लागेन।

युवा जोश र जाँगरको विश्वभर जुनजुकै युगमा पनि ठूलो महत्व रहेको हुन्छ। युवा एउटा यस्तो उमेर समूह हो जसको बलले नै मुलुकको प्रगति, उन्नती वा अवनती हुने हो। नेपालमा वा विश्वमा जति पनि आन्दोलन र क्रान्ति भएका छन्, ती सबको पछाडि युवाशक्ति रहेको हुन्छ।

तर युवालाई दुरुपयोग गर्ने कुतत्वको कारण युवाहरूले बाटो बिराएका धेरै उदाहरणहरू छन् जुन कुराले पछि गएर निकै घातक अवस्थाको सिर्जना हुन सक्दछ। त्यसैले युवाशक्तिलाई सही तवरले सदुपयोग गर्ने मुलुक नै विकास र समृद्धिको शिखरमा पुग्ने गरेको छ।

नेपालको पछिल्लो इतिहास हेर्ने हो भने पनि पृथ्वीनारायण शाहदेखि भीमसेन थापा, जङ्गबहादुर राणा, वीरशमशेर राणा, चन्द्रशमशेर राणा, विश्वेश्वरप्रसाद कोइराला, राजा महेन्द्र, राजा वीरेन्द्र जस्ता कहलिएका शासकहरूले आफ्नो कलिलो युवावस्थामा नै मुलुक बनाउने तथा मुलुकलाई नयाँ दिशातर्फ डोर्‍याउने काम गर्न सके तर वृद्ध हुँदै गए पछि भने उनको पनि शक्ति र वौद्धिकता क्षिण हुँदै गएको थियो।

त्यस्तै बलभद्र कुँवर, अमरसिंह थापा, कालु पाँडे, बहादुर शाह, दामोदर पाँडे जस्ता महान् योद्धाहरू वा अरनिको, मोतिराम भट्ट, भानुभक्त आचार्य, जयपृथ्वीबहादुर सिंह, टंकप्रसाद आचार्य, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी वा अन्य विधाका नायकहरूले पनि आफ्नो युवावस्थामा नै विभिन्न खालका पौरखहरूको प्रदर्शन गरेका थिए।

त्यसैले मानिसको जीवनमा कलिलो उमेरमा नै आफ्नो प्रतिभा र पौरख देखाउने जोश र जाँगर रहन्छ। उमेर ढल्कँदै गए पछि नवयुवाहरूलाई अगाडि सार्दै आफूले बाटो देखाउने र अनुभव बाँड्ने भूमिकामा बस्दा आफ्नो र मुलुकको नै हित हुन जान्छ।

तर यसरी सकारात्मक सोच राख्ने मानिस संसरमा विरलै पाइन्छ। त्यसैले आफ्नो समयमा ठूलो योगदान दिएको मानिस पछि पतनको बाटोमा पुग्दछ। बुद्धि र विवेक भएका सबै दलका नेताहरूले आफ्ना दलका युवा नेताहरूलाई जिम्मेवारी दिँदै मुलुकको नेतृत्व गर्न सक्ने अवस्थाको सिर्जना गर्न अब ढिलो गर्नु हुँदैन।

आज नेपालमा जागरुक युवाहरूको संख्या करोडमा पुगिसकेको छ। आआफ्ना विषयका ज्ञाता युवाहरू लाखौँको संख्यामा छन्। रोजगारीको अभावले गर्दा अधिकांश यस्ता युवाहरूको मन छट्पटीइरहेको छ। मुलुकको विकासमा यिनलाई कसरी उपयोग गर्ने भन्ने कुराको सोच कुनै पनि दलमा वा राज्यमा नै भएको देखिँदैन।

त्यसैले पनि हाल केही समय देखि यो समूह निकै आन्दोलित अवस्थामा छ। चुनावी मुखपत्रमा सधैँ लेखिने प्रतिज्ञालाई अब यो समूहले हत्पति विश्वास गर्दैन। झुठो आश्वासन र प्रतिज्ञा अब नेताहरूको लागि निकै महँगो पर्न सक्ने हुन्छ।

आज मुलुक पुनः मध्यावधिक निर्वाचनमा होमिएको छ। कुनै प्रकारको राष्ट्रिय सहमतिमा पनि नपुगेर आआफ्नो डम्फु बजाउँदै चुनावमा होमिएका दलहरू बीच चुनावको दौरान वा चुनाव पछि पनि विभिन्न प्रकारका विमति र द्वन्द्व सिर्जना भएर मुलुकमा झनै भयानक अस्थिरता छाउन सक्दछ।

त्यसैले पनि सबै पक्षले शान्तिलाई मुलमन्त्र मानेर आमचुनावमा भाग लिँदै हारजीत जे भए पनि सबै मिलेर मुलुकमा एक नयाँ तथा साझा सहमतिको विकास गर्ने र अब आइन्दा जनतालाई र त्यसमा पनि नयाँ पिँढीलाई नजरअन्दाज गरेर मुलुक चल्दैन भन्ने कुरालाई गीता समान रटेर हामी सबैले मुलुकको उत्थान र समृद्धिको निम्ति अघि बढ्नु परेको छ।

– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.