टिपरको ‘हाइड्रोलिक’ उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
सिरहा । यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेका छन्। आज बिहान करिब ९ः०० बजे प्रदेश२–०–००१क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा माथिबाट गएको विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर टिपरमा आगलागी भएको थियो।
गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।
उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment