देश बचाउन र स्थिरताका लागि कांग्रेस सत्तामा पुग्न जरुरी : डा. प्रकाश शरण महत

डिसी नेपाल
१६ फागुन २०८२ १६:०७
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले देश संकटको अवस्थामा रहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन सुनिश्चितता र स्थिरताका लागि नेपाली कांग्रेस सत्ताको नेतृत्वमा पुग्न आवश्यक रहेको बताएका छन्।

नुवाकोटमा कांग्रेसको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले नुवाकोट जिल्ला नेपाली कांग्रेसको गढ भएकाले विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनले वर्तमान राष्ट्रिय राजनीति अत्यन्त तरल अवस्थामा रहेको भन्दै देश अझ कमजोर हुने खतरा विद्यमान रहेको बताए।

‘नुवाकोट जिल्ला नेपाली कांग्रेसको गण भएकोले विजय सुनिश्चित हुने मलाई थप विश्वास बढेको छ। यो परिस्थितिबाट देशलाई जोगाउन जरुरी छ, लोकतन्त्रलाई मजबुत पार्न जरुरी छ, विधिको शासन सुनिश्चित गर्न जरुरी छ। विनाश होइन, निर्माण गर्न जरुरी छ,’ उनले भने, ‘भत्काउन सजिलो हुन्छ, तर बनाउन समय, स्रोत–साधन, भिजन र मिसन चाहिन्छ। हामी बनाउने योद्धा हौं, विनाश गर्ने होइन।’

नेता महतले विशेष परिवेशमा ८४ को सट्टा ८२ मा निर्वाचन हुन लागेकाले यस चुनावको महत्व अझ बढेको उल्लेख गरे। उनले स्थिरता र लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेसजस्तो परिपक्व पार्टी सत्ताको नेतृत्वमा पुग्नुपर्ने धारणा राखे। संसदमा अत्याधिक संख्याका साथ कांग्रेस उपस्थित भए मात्र देशले स्थायित्व प्राप्त गर्ने उनको भनाइ थियो।

उनले भने, ‘आजको विशिष्ट परिवेशमा जुन ८४ को सट्टा ८२ मा निर्वाचन हुँदैछ त्यसैले यसको महत्व छ। यसमा नेपाली कांग्रेस जस्तो परिपक्व पार्टी सत्ताको नेतृत्वमा पुग्न जरुरी छ। संसदमा अत्याधिक संख्याको साथ संसदमा पुग्न जरुरी छ त्यो भयो भने मात्र देशले स्थिरता प्राप्त गर्छ र लोकतन्त्र संस्थागत हुन्छ।’

उनले नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै ती दलहरूको उदय र विसर्जनबारे नै स्पष्टता नभएको टिप्पणी गरे। ‘नयाँ पार्टी कहाँबाट सुरु हुन्छ, कहाँबाट अन्त्य हुन्छ, कहाँबाट पैदा हुन्छ र कहाँबाट विसर्जन हुन्छ भन्ने नै थाहा छैन। मिसन र भिजनको अत्तोपत्तो छैन। यस्तो अवस्थामा नयाँ पार्टी विकल्प हुन सक्दैन,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.