मुगुमा भाइरल ज्वरोका कारण सयौं विरामी, एक जनाको मृत्यु
मुगु। मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको कारण एक जनाको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन्।
मृत्यु हुनेमा नर्खजी गाँउकी अन्दाजी बर्ष ५० की पन्चकली बिटालु रहेकी छन्। बिटालुलाई एक हप्ता पहिलेदेखि भाइरल ज्वरोले थला पारेको थियो। गाँउ घर र नजिकको स्वास्थ्य संस्थामा उपचार गर्दा पनि उपचार नभएपछि आइतबार मृत्यु भएको हो।
बिरामीहरुलाई ज्वरो आउने, खोकी लाग्ने ,टाउको दुख्ने ,रिंगटा लाग्ने, खकारमा रगत देखापर्ने लक्षण देखिदा सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धासम्म बिरामी परेको स्थानीय पहलमान रोकायाले बताए।
रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको भाइरल ज्वरो नर्खजी गाउँका चार बस्तीमा चारसय भन्दा बढी स्थानीयमा तीव्र रूपमा फैलिएको हो।
नर्खजिमा रहेको स्वास्थ्य संस्थामा बिरामीहरुलाई बस्ने, आराम गर्ने बेड नहुँदा बिरामीहरु भुइमा र स्वास्थ्य संस्थाको पेटीमा आराम गर्ने गरेका छन्।
प्रतिनिधी सभा निर्वाचन आउन केही दिन बाँकी रहेको बेला उम्मेदारहरुले आफ्ना लागि भोट मागीरहे पनि विरामीहरुका लागि कुनै पहल नभएको गुनासो आउने गरेको छ।
नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
खत्याडगाँउपालिका वडा नम्बर ९ मा फागुन पहिलो साताबाट फैलिरहेको ज्वरोबाट धेरै जना स्थानीय बिरामी भइरहेको भन्ने खबर आएपछि जिल्ला अस्पताल, ठीनी ,खत्याड गाँउपालिकाको स्वास्थ्य शाखा र पालिकालगायत अन्य सरोकारवालासँग पहल भइरहेको जनाइएको छ।
एक जनाको मृत्यु भएको खबर सुनेपछि खत्याड गाँउपालिकाबाट औषधीसहितको टोली नखैजी गाँउतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए।







डिसी नेपाल







Facebook Comment