एमाले नेतृ जुली महतोले सार्वजनिक गरिन प्रतिबद्धता पत्र

डिसी नेपाल
१७ फागुन २०८२ १८:३४
12
Shares

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की नेतृ तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुली कुमारी महतोले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत उनले धनुषाको समग्र विकासका लागि १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन्।

प्रतिबद्धता पत्रमा नेतृ महतोले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेकी छन्।

उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, जनकपुरधामलाई विश्वकै प्रमुख वैवाहिक गन्तव्यका रूपमा स्थापित गर्ने तथा ऐतिहासिक बाह्रबिघा क्षेत्रको सौन्दर्यीकरण गर्नेमा जोड दिएकी छन्।

त्यस्तै, उनले जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस र राजर्षि जनक विश्वविद्यालयको स्तरोन्नति, आधारभूत तथा माध्यमिक विद्यालयहरूको पूर्वाधार विकास, निःशुल्क तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन्।

नेतृ महतोले जनकपुरधामको प्रादेशिक अस्पतालको आधुनिकीकरण गरी प्रत्येक नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने योजना अघि सारेकी छन्।

त्यस्तै उनले उद्योग क्रान्तिमार्फत रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको बताइन। उद्योग स्थापना गर्न सहुलियत ब्याजदरमा ऋण सुविधा, साना कृषक तथा व्यवसायीका लागि लघु बीमा, महिला, युवा, किसान र साना उद्यमीलाई बिना धितो कर्जा उपलब्ध गराउने उनले प्रतिबद्धता जनाइन। उनले धनुषामा औद्योगिक कोरिडोर निर्माण र बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाइन।

नेतृ महतोले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सबै गाउँ बस्तीलाई बजारसँग सडकमार्फत जोड्ने, रणनीतिक सडक सञ्जालसँग स्थानीय सडकको कनेक्टिभिटी सुदृढ गर्ने तथा १५ दिने मिथिला माध्यमिकी परिक्रमाको मार्ग स्तरोन्नति र विश्रामस्थलको सौन्दर्यीकरण गर्ने योजना रहेको बताइन।

उनले जनकपुरधामको वरिपरि काठमान्डौको भन्दा लामो चक्रपथ निर्माण, योजनाबद्ध बस्ती विस्तार, यातायात व्यवस्थापन सुधार तथा सफा, सुन्दर र आधुनिक महानगर निर्माण गर्ने लक्ष्यका साथ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्।

युवाहरुका लागि उनले ‘खेलमा जोश, युवामा होस’ नारासहित रामजानकी बहुउद्देश्यीय रंगशाला र शहीद दुर्गानन्द झा रंगशाला सञ्चालनमा ल्याउने, खेल पर्यटन प्रवद्र्धन गर्ने तथा प्रत्येक वडामा एक खेलमैदान निर्माण गर्ने योजना प्रतिबद्धता पत्रमा समेटेकी छन्।

नेतृ महतोले ‘सीमा होइन, सेतु’ नारामार्फत सीमावर्ती क्षेत्रको आर्थिक र सामाजिक सहकार्य सुदृढ गर्ने, ‘अन्नदाता हास्यो, देश जाग्यो’अभियानअन्तर्गत कृषकको आय वृद्धि गर्ने तथा ‘कसैलाई पछाडि नछाड्ने’समावेशी विकासको प्रतिबद्धता जाहेर गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.