स्थलगत

सर्लाही-४ : चुनौतीको पहाडमा गगन थापा, अमरेश भन्दा शिवपुजनका छोरा गगनमाथि भारी

डिसी नेपाल
१८ फागुन २०८२ ९:५६
3.0k
Shares

सर्लाही। एकाध आमसभा भ्याएर अहिले कांग्रेस सभापति गगन थापा सर्लाही आफ्नो क्षेत्रमा पुगिसकेका छन्।

जेनजी आन्दोलनपछि कांग्रेसमा रुपान्तरणसहितको मुद्दा उठाएर विशेष महाधिवेनपछि सभापति बनेका गगन थापा सर्लाही-४ मा मधेशका मतदातामाझ पुगेका हुन्। काठमाडौं-४ बाट सिधै मधेश झर्दा उनको लागि स्थानीय भाषा प्रमुख समस्या बन्दा कडा चुनौती बनेको छ।

मधेश झरेपछि सिंगो देशको ध्यान केन्द्रीत भएको छ। अहिले सर्लाही-४ मा केन्द्रित भएको अवस्थामा थापा आफ्नो क्षेत्रमा डेरा जमाएर बसेका छन्। क्षेत्रबाट लगातार चुनाव जित्दै आएका अमरेश कुमार सिंह (हाल रास्वपा)को प्रतिस्पर्धामा छन्।

तर पनि सिंह भन्दा शिवपूजन राय यादव गगन थापाका लागि भारी भैरहेका छन्। शिवपूजनकै छोरा अमनिशकुमार यादव नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेपछि टाउको दुःखाईको विषय बनेको हो।

शिवपूजनलाई यो क्षेत्रमा भोट बैक भएका नेताको रुपमा हेरिएको छ । उनीसँग अहिले पनि १४ हजार मत रहेको बजारमा हल्ला छ। यो क्षेत्रमा २५ हजार आसपासमा जितहारको संभावना रहेको बताइन्छ।

सलाही ४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नं.१-४ र १३-१५, विष्णु गाउँपालिकाको वडा नं. १-४ र बसबरिया गाउँपालिकाको वडा नं.१-३ समेटिएको छ।

१ लाख २५ हजार मतदाता रहेको यो क्षेत्रमा गगन थापालाई स्वतन्त्र, जसपा पनि उत्तिकै चुनौती रहेको छ। मधेश प्रदेश सांसद वीरेन्द्र सिंह आफैं त्यस क्षेत्रबाट २०७४ र २०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। पहिलेदेखिकै कांग्रेसको संगठनात्मक भोट र पछिल्लो समय पार्टी प्रवेश गरिसकेका विभिन्न वडाका उम्मेदवारहरूका कारण गगनले जित्ने देखिएको छ।

बलरा नगरपालिकाका ११ वटा वडामध्ये ६ जना वडाध्यक्ष कांग्रेसले जितेको छ। त्यसैगरी, गोडैता नगरपालिकामा वडा नम्बर ६ र वडा नम्बर ९ गरी २ वटा वडाको वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन्।

त्यसमा वडा नम्बर १-२ मा माओवादीबाट र ११ मा एमालेबाट चुनाव जितेका वडाध्यक्षहरू कांग्रेस प्रवेश गरिसकेका छन्। त्यसैगरी, बलरा ७ र ८ का वडाध्यक्ष (जसपा)का उम्मेदवार तथा वडा नम्बर ४ मा एमालेबाट प्रतिस्पर्धी रहेका उम्मेदवार कांग्रेस प्रवेश गरेका छन्।

रामनगर गाउँपालिकामा शिवपूजन यादवका छोरा गाउँपालिका अध्यक्ष भएपनि स्थानीय तहको चुनावमा डा. अमरेश कुमार सिंहको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका राहुल बर्माको नेतृत्वमा थुप्रै कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन्।

क्षेत्रमा विष्णु गाउँपालिकाको ४ वटा, गोडैता नगरपालिकाको १२ वटा, बलरा नगरपालिकाको ११ वटा, रामनगर गाउँपालिकाको ७ वटा, धनकौल गाउँपालिकाको ७ वटा, बसबरिया गाउँपालिकाको ३ वटा र बरहथवा नगरपालिकाको ७ वटा गरी कुल ५१ वटा वडा पर्छन्।

२०७९ सालको स्थानीय चुनावमा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव कांग्रेसबाट निर्वाचित भएका थिए। गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव पूर्व लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट निर्वाचित भएर हाल जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध छन्।

बलरा नगरपालिकाका प्रमुख रामशंकरप्रसाद कुशवाहा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर हाल नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध छन्। रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव पूर्व सांसद शिवपूजन यादवका छोरा हुन्। शिवपूजनकै अर्का छोरा अमनिशकुमार यादव नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन्।

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह नेपाली कांग्रेसबाट जितेका हुन्। बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय जसपामा आबद्ध छन्।

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी मनोनयन दर्ता गराएका डा. अमरेश कुमार सिंह भने यसपटक मधेशका छोरा बालेनको नेतृत्वमा सरकार बनाउने कुरा भएकाले आफ्नो जीत सुनिश्चित रहेको बताउँदै हिँडेका छन्।

सिंहले २०७० (संविधानसभा), २०७४ र २०७९ मा लगातार तीनपटक चुनाव जितिसकेका छन्। २०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेको भएपनि २०७९ मा कांग्रेसको बागी उम्मेदवारको रूपमा स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव जितेका थिए।

२०७९ मा सिंहले २० हजार १७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३, शिवपूजन यादवकी छोरी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन्। २०७९ मा स्वतन्त्र उठेर जितेको अवस्थामा यसपटक त रास्वपा पार्टी र त्यसको संगठन सबै आफ्नो पक्षमा रहेकाले चुनाव जित्नेमा सिंह ढुक्क रहेका छन्।

सर्लाही-४ लाई कांग्रेसको परम्परागत गढ मानिन्छ। २०४८ देखि २०५६ सम्म भएका तीन निर्वाचन जितेका महन्थ ठाकुरले नेपाली कांग्रेस छाडेसँगै यो क्षेत्रमा अमरेशकुमार लड्दै आएका थिए।

कांग्रेस सभापति थापाले उम्मेदवारी दिएपछि सर्लाही-४ चुनावी मैदानका प्रमुख ‘हटस्पट’ बन्यो। अघिल्ला तीन निर्वाचनमा थापाले काठमाडौं-४ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए।

थापाको यसपालिको उम्मेदवारीलाई उपसभापति विश्वप्रकाश शर्मा समग्र मधेसप्रतिको सम्मानका रूपमा अर्थ्याएर थप यसलाई महत्व दिएका छन्। उनले थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमिति बैठकमा भनेका थिए, ‘मधेशबाट उम्मेदवार बनाउनु भनेको एकातर्फ मधेश र मधेशका मतदाताप्रति नेपाली कांग्रेसले सम्मान प्रकट गरेको हो, अर्कातर्फ मधेशको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.