अनसन बसेका घाइते जेनजीहरूको प्रश्न- हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन?

डिसी नेपाल
१८ फागुन २०८२ १९:११
28
Shares

काठमाडौं। एक दर्जन भन्दा बढी घाइते जेनजीले सुशीला कार्कीको सरकारलाई आफ्ना माग सम्बोधन नगरी निर्वाचन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी यथास्थितिमा हुनगइरहेको चुनावले देशलाई निकास दिन नसक्ने ठोकुवासमेत गरेका छन्।

जेनजी अगुवा बुद्धनाथ सिंहले ऐतिहासिक जेनजी आन्दोलनका उपलब्धिहरुलाई सरकारले सडकमै छाडेर चुनावमा हेलिएको भन्दै आपत्ति जनाए। आफूहरुले देशको समग्र समस्या समाधानका लागि ‘नेत्रवाद दर्शन जेन–जी घर यात्रा’को अवधारणा ल्याएको र सबैलाई त्यसैमा गोलबन्द हुन आग्रह समेत गरे।

सिंहले हालै घाइते ‘जेनजी सुशासन योद्धा’ हरु आफ्ना मागहरु पूरा गर्न अनसन बसेको बताउँदै भने, ‘अनसनपछि सरकारले हामीसँग नवनिर्वाचित संसदको पहिलो बैठकमा आफूहरुले तयार पारेको पारदर्शी नीति र नियम तथा सदाचारी योजनाहरु प्रस्तुत गर्ने सहमति भएको छ।’
अनसन बसेका विजय अधिकारीले देशमा राजनीतिक दलहरुले भ्रष्टाचार, कुशासन, अपारदर्शीता तथा बेथितिजन्य कार्यहरु गर्दै र गराउँदै आउँदाको परिणाम जेनजी पुस्ताले विद्रोह गर्न बाध्य भएको बताए। अधिकारीले जेनजीको बलमा बनेको सरकार नै आफुहरु प्रति अशहिष्णु बन्दै गएकोमा रोश व्यक्त गरे।

अर्का घाइते अशोक घोरासैनीले अशान्तमय बन्दै गएको संसारलाई शान्तिमा रुपान्तरण गर्न विश्व जगतका अग्रदूत गौतम बुद्ध जन्मेको नेपालले नेतृत्वदायी भूमिका खेल्नसक्ने दस्तावेज आफूहरुसँग भएको दावी गरे।

घाइते जेनजी आर्यन अधिकारीले आसन्न निर्वाचनले पनि देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै आउँदा दिनमा पनि पुनः देशमा अर्को विद्रोह हुने सम्भावना प्रवल रहेको आशय व्यक्त गरे।

लक्ष्मी देवीले देशको स्थायी शक्ति राजसंस्थालाई विदेशीको योजनामा बहिर्गमन गर्दाको परिणाम नेपाल अस्थिरताको भूमरीमा फस्न पुगेको धारणा राखिन्।

घाइते राज कठायतले ‘जेनजी सुशासन योद्धा’हरुले आमरण अनसन गरेपछि सरकारले आफ्ना मागहरु पूरा गर्ने बाचा गरे पनि कार्की सराकारले सोे दिशातिर ध्यान नदिएको भन्दै रोश व्यक्त गरे।

अर्का घाईते मनिष चापागाँईले आफूहरुको चाहना विपरीत निर्वाचन गरिए पनि चूनावपश्चात जेनजीका सम्पूर्ण मागलाई सम्बोधन गर्न तयार रहनुपर्ने चेतावनी दिँदै उनले भने,‘हाम्रो बलिदानलाई वेवास्ता गरी पुरानै ढर्रामा गए कडा प्रतिरोधका लागि तयार छौं। हेक्का रहोस्।’

सरोज कुमार मण्डलले विदेशीहरुको चलखेलमा जबरजस्त लादिएको देशको अर्थतन्त्रले धान्न नसक्ने खर्चिलो संघीयतालाई खारेज गरी सो खर्च विकास निर्माणमा प्रयोग गर्नुपर्ने माग राखे।

भक्ति प्रसाद धितालले जेनजी सुशासन योद्धा परिवारले देशको निकास र विकासका लागि ‘नेत्रवाद दर्शन’लाई अघि सारेको बताउँदै सबै त्यसैमा गोलबन्द हुन अपिल गरे।

जनार्दन अधिकारी क्षेत्रीले जेनजीका मागहरुलाई आगामी सरकारले पनि वेवास्ता गरे देश थप संकटतिर धकेलिने दावी गरे।

अग्रज घाईते जेनजीहरु फागुन ९ गतेदेखि १३ गतेसम्म माइतिघर मण्डलामा ‘जेनजी सुशासन योद्धा’को ब्यानरमा जेनजी आन्दोलनका मर्म र भावना सम्बोधन तथा ‘जेनजी संविधान’ लागु गर्न ५ दिन अनसन बसेका थिए।

सरकारले १३ गते राती अनसन स्थगन गराएर नेपालको संविधान २०७२ लाई आवश्यकता अनुसार संशोधन गरी जेनजीका मागहरु सम्बोधन गर्ने सम्झौता गरेको आयोजकले जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.