नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स-२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ।
नयाँ प्रावधानअनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ। अडिट मान्यताप्राप्त आईटी विज्ञ वा अडिट फर्ममार्फत गराइ प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्नेछ। निर्देशिकाअनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन, सर्भर, डाटाबेस, नेटवर्क, वेबसाइट तथा मोबाइल एपलगायत सम्पूर्ण डिजिटल संरचना परीक्षणको दायरामा पर्नेछन्।
साथै, प्रयोगकर्ता प्रमाणीकरण, डेटा ब्याकअप, फायरवाल, इन्क्रिप्सन र साइबर सुरक्षा नीतिको प्रभावकारिता पनि अनिवार्य रूपमा परीक्षण गर्नुपर्नेछ। नेप्सेले अनलाइन कारोबार विस्तारसँगै बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै अडिटलाई संस्थागत गरेको जनाएको छ। निर्देशिका उल्लंघन गर्ने ब्रोकर कम्पनीमाथि कारबाहीको व्यवस्था समेत राखिएको छ।







डिसी नेपाल







Facebook Comment