दोलखाको तामाकोशी-४ मालुमा रोकिएको मतदान पुन: सुरु

डिसी नेपाल
२१ फागुन २०८२ १८:०१
924
Shares

रामेछाप। तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा यसअघि रोकिएको निर्वाचन आज पुनः सुरु गरिएको छ ।

तामाकोशी–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान केहीबेरअघि सुचारु भएको मतदान अधिकृत ज्ञानकुमार खड्काले जानकारी दिएका छन् । मतदान सुरु भएसँगै तितरबितर भएका मतदातालाई माइकिङ मार्फत पुनः मतदान केन्द्रमा बोलाइएको छ ।

उक्त मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भएको थियो । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुथ कब्जा गर्ने प्रयास गरेको आरोप नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले लगाएका थिए ।

विवाद बढ्दै जाँदा उत्तेजित भीडले कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हवाई फायर समेत गरेका थिए । त्यसपछि त्रसित बनेका मतदाता तितरबितर हुँदा मतदान प्रक्रिया बीचमै रोकिएको थियो ।

मतदान अधिकृतले निर्वाचन अर्को मितिमा गर्न सिफारिस गरेको भए पनि स्थानीय प्रशासनको पहलमा राजनीतिक दलहरूसँग समन्वय गरी आजै पुनः मतदान सुरु गरिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.