एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार रविन बज्राचार्यले (एनआरएनए) संस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एनआरएनएको नेतृत्व सम्हालेर विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने इच्छा रहेको बताए।
अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु। त्यसका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। तपाईँहरूको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क छु।’
उनले संसार परिवर्तनशील भएकाले एनआरएनएमा पनि समयअनुसार परिवर्तन आवश्यक रहेको बताए। ‘पुरानै तरिकाले काम भइरहँदा एनआरएनएको अवस्था अहिले यस्तो बनेको छ कि संसारभर ‘हामी एनआरएनए हौँ’ भन्न पनि लाजमर्दो स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘त्यसैले एनआरएनएभित्र आमूल परिवर्तन, बृहत् एकता र संस्थाका सम्पूर्ण कारोबारमा पारदर्शिता ल्याउन मैले उम्मेदवारी दिएको हुँ।’
बज्राचार्यले गैरआवासीय नेपालीलाई नेपालको संविधानले राजनीतिक अधिकारबाहेक नेपालीसरह अधिकार दिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ढिलाइ भएको गुनासो गरे। ‘संविधान बनेको आठ वर्ष बितिसक्दा पनि नेपालमा बारम्बार सरकार परिवर्तन भइरहँदा संविधानले दिएको अधिकार समेत पूर्ण रूपमा प्रयोग गर्न पाएका छैनौँ,’ उनले भने।
आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनएको १२औँ विश्व महाधिवेशनलाई लक्षित गर्दै बज्राचार्यले बुधबार आफ्नो उम्मेदवारी दर्ता गरेका थिए।







डिसी नेपाल







Facebook Comment