विश्वभरका नेपालीका समस्या र सम्भावनाबारे स्पष्ट ‘ह्वाइट पेपर’ तयार गरेर काम गर्छु : डा.हेमराज शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका डा. हेमराज शर्माले संस्थालाई अझ व्यापक र समावेशी बनाउँदै विश्वभर रहेका नेपालीलाई नेपालसँग थप सशक्त रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनआरएनएको १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आफ्नो उम्मेदवारी, प्राथमिक एजेन्डा, एनआरएनको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तारमा बताएका छन् ।
डा. शर्माका अनुसार एनआरएनएको औपचारिक निर्वाचन प्रक्रिया सुरु भएको र यसै पटक आफू सबैको साझा अध्यक्षका रुपमा प्रश्तुत भएर सबैलाई मिलाएर बृहत एनआरएनएको खाका तयार गरेको पनि बताए ।
उनले भने, ‘वास्तवमा, गैरआवासीय नेपाली संघले विदेशमा बासोबास गर्ने लाखौं नेपालीहरूलाई एकाबद्ध गर्दै नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग गर्ने उद्देश्यले २००३ मा स्थापना भएको थियो । हाम्रा अग्रजहरूले साँच्चै मेहेनत गरेर संस्था स्थापना गर्नुभयो । अहिले ९० देशमा औपचारिक सञ्जाल विस्तार भइसकेको छ । नेपालमै पनि गैरआवासीय नेपाली सम्बन्धि थुप्रै ऐन, कानुन बनेका छन् गैरआवासीय नेपाली नागरिकता संविधानमा नै व्यवस्था भएको छ । सरसर्ती हेर्दा धेरै उपलब्धीहरु भएका छन् । तर, हामीले संस्थागत रुपमा जति गैरआवासीय नेपालीहरूलाई कनेक्सन गर्नुपर्ने हो त्यो भएको छैन् ।’
उनले गैरआवासीय नेपाली संघ सन् २००३ मा स्थापना हुँदा यसको मूल उद्देश्य विदेशमा बस्ने लाखौं नेपालीलाई एकताबद्ध गर्दै नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउनु थियो । अहिले करिब ९० देशमा संस्थाको औपचारिक सञ्जाल विस्तार हुनु विश्वभर रहेका नेपालीहरूको संख्याको तुलनामा सदस्य संख्या निकै न्यून रहेको उनको भनाइ छ ।
‘विदेशमा बस्ने नेपालीमध्ये अहिले संघमा करिब एक लाख जतिमात्र सदस्य छौं । जुन कुल जनसंख्याको करिब दुई प्रतिशत हो,’ उनले भने, ‘यसमा पनि विशेषगरी पेशागत व्यक्तिहरू, दोस्रो पुस्ताका नेपाली र महिलाको सहभागिता अपेक्षाकृत कम छ ।’
संस्थालाई बलियो बनाउने पहिलो लक्ष्य
डा. शर्माले आफ्नो कार्यकालको मुख्य प्राथमिकता संस्थागत सुदृढीकरण रहेको बताए । उनले पहिला एनआरएनलाई नै बलियो बनाउँदै अधिकतम गैरआवासीय नेपालीलाई संस्थासँग जोड्न सकेपछि मात्रै नेपालका लागि प्रभावकारी काम गर्न सकिने बताए ।
उनले युवाहरू, महिलाहरू, विद्यार्थी र श्रमिकहरूलाई लक्षित विशेष कार्यक्रम ल्याउने योजना रहेको सुनाए । ‘हाम्रा अग्रजहरूले विगत २० वर्षमा नेपालका लागि धेरै काम गर्नुभयो, तर हामीले लक्ष्य अनुसार काम गर्न सकेका छैनौं,’उनले भने,‘अब मेरो ध्यान पहिला संस्थालाई नै सुदृढ बनाउने र सबै गैरआवासीय नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउनेमा हुनेछ ।’
नागरिकता र मताधिकार प्राथमिकता
गैरआवासीय नेपाली नागरिकता र विदेशमा बस्ने नेपालीको मताधिकारको विषय लामो समयदेखि उठ्दै आएको भएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनले स्वीकार गरे । उनका अनुसार यो विषय केवल एनआरएनको प्रयासले मात्र सम्भव नहुने, संसद् र सरकारको प्राथमिकतासँग पनि जोडिएको विषय भएको बताए ।
‘मताधिकारको सन्दर्भमा कुरा गर्दा भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा एकदमै धेरै उठेको थियो । तर पनि कार्यान्वयनमा आएन । यसको विविध कारणहरु होलाना । झट्ट हेर्दा एनआरएनए फुटिरहेको, झगडा भइरहेको र मतभिन्नता रहेका कारण ढिला भयो भनेर एक्सक्यूज गर्ने कुरा त होला । तर ऐन बनाउने कुरा हाम्रो हातमा भन्दा पनि संसदको कुरा हो,’ उनले भने ।
हालको कानुनी व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था भए पनि नागरिकता प्राप्त गरेपछि उनीहरूले प्रयोग गर्न पाउने अधिकार स्पष्ट रूपमा अन्य कानुनहरूले नचिनेको समस्या रहेको उनले बताए । अध्यागमन, मालपोत लगायतका निकायले त्यो नागरिकतालाई पूर्ण रूपमा मान्यता दिन कानुनी सुधार आवश्यक रहेको उनको भनाइ छ ।
मताधिकारको विषयमा भने प्रविधिको प्रयोग गरेर समाधान सम्भव रहेको उनले औंल्याए । ‘अनलाइन मतदान प्रणाली अहिले प्रविधिगत रूपमा सम्भव छ,’ उनले भने, ‘फेस भेरिफिकेसन जस्ता प्रणाली प्रयोग गरेर सुरक्षित र विश्वसनीय मतदान गराउन सकिन्छ ।’
विदेशमा रहेका नेपालीको अध्ययन गर्ने योजना
एनआरएनएको भावी नेतृत्वमा पुगेपछि विदेशमा रहेका नेपालीहरूको अवस्था, समस्या र सम्भावनाबारे विस्तृत ‘ह्वाइट पेपर’ तयार गर्ने योजना रहेको डा. शर्माले बताए । विश्वका ११० भन्दा बढी देशमा रहेका नेपालीको अवस्थाबारे स्पष्ट अध्ययन भएपछि मात्र प्रभावकारी नीति बनाउन सकिने उनको विश्वास छ ।
विशेषगरी मध्यपूर्व र पूर्वी युरोपका देशहरूमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरू अनेक समस्यामा परेको उनले उल्लेख गरे । श्रमिकहरूको स्वास्थ्य सेवा, बीमा, उद्धार र पुनःस्थापनासम्बन्धी विषयमा पनि संस्थागत पहल आवश्यक रहेको उनले बताए ।
युवापुस्तालाई जोड्ने विशेष योजना
डा.शर्माले एनआरएनको भविष्य दोस्रो पुस्ताका नेपालीसँग जोडिएको भन्दै युवाहरूलाई संस्थासँग जोड्न विशेष कार्यक्रम ल्याउने बताए । उनका अनुसार विदेशमा जन्मेका र हुर्केका नेपाली मूलका युवाहरूलाई नेपालसँग भावनात्मक र पेशागत रूपमा जोड्न नयाँ कार्यक्रम आवश्यक छ ।
त्यसका लागि उनले इन्टर्नशिप, ओरिएन्टेसन कार्यक्रम, खेलकुद गतिविधि तथा सांस्कृतिक कार्यक्रममार्फत युवापुस्तालाई नेपालसँग जोड्ने योजना रहेको बताए ।
‘हाम्रो पुस्ता त नेपालसँग स्वाभाविक रूपमा जोडिएको छ,’ उनले भने, ‘तर दोस्रो पुस्तालाई कसरी जोड्ने भन्ने नै अबको मुख्य चुनौती हो ।’
एकताको सन्देश
एनआरएनए भित्र विगत केही वर्षदेखि देखिएको विभाजनबारे बोल्दै डा. शर्माले आफ्नो नेतृत्वमा संस्थालाई एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरे । आफू कुनै राजनीतिक दलसँग प्रत्यक्ष रूपमा आबद्ध नभएकाले सबै समूहसँग संवाद गर्न सहज हुने उनले बताए ।
‘म संस्थामा दुई दशकदेखि सक्रिय छु, धेरै साथीहरूसँग व्यक्तिगत सम्बन्ध पनि छ,’ उनले भने, ‘त्यसैले सबै पक्षलाई मिलाएर अघि बढ्ने प्रयास गर्नेछु ।’
उनले आगामी महाधिवेशनबाटै एकताको सन्देश जाने विश्वास व्यक्त गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको पनि बताए ।
डा. शर्माले सबै पक्ष मिलेर अघि बढ्न सके, एनआरएनए अझ सशक्त बनेर विश्वभरका नेपालीलाई नेपालसँग जोड्ने प्रभावकारी माध्यम बन्न सक्ने बताए ।







डिसी नेपाल







Facebook Comment