नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने

डिसी नेपाल
३० फागुन २०८२ १८:२७
56
Shares

काठमाडौं। नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ शनिबार सम्पन्न भएको छ।

‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ फागुन २८, २९ र ३० गते आयोजित एक्स्पोले नेपाली औषधि उद्योगमा अपनाइएका नवीन प्रविधि, उपकरण र उत्पादन क्षमताको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरेको थियो।

यो एक्स्पो सङ्घले प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रचलित कार्यक्रमको दशौँ संस्करण हो। नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले औषधि उद्योगको वर्तमान अवस्था र उद्देश्यबारे जानकारी दिँदै नेपालमा अत्याधुनिक मेसिन, उपकरण र औजार प्रयोग गर्दै औषधि निर्माण गरिरहेको बताए।

उनले भने, ‘विश्व परिवेशमा विकसित प्रविधिहरू नेपालमा आत्मसात भइरहेको छ। हामीले अत्याधुनिक मेसिन, उपकरण र औजार प्रयोग गर्दै औषधि निर्माण गरिरहेका छौं। हाम्रो मुख्य उद्देश्य प्रविधि प्रदर्शन गर्नु हो, जसले उपभोक्तामा विश्वास बढाउँछ। यो एक्स्पोमा प्रस्तुत भएका सबै उपकरण र प्रविधि नेपाली औषधि उद्योगमा प्रयोगमा छन्। औषधि बनाउने प्रविधि लगातार परिवर्तन हुँदै गइरहेको छ र अत्याधुनिक प्रविधि प्रयोग गरी गुणस्तरीय उत्पादन सुनिश्चित गर्दैछौं।’

उनले औषधि उद्योगमा नीतिगत सुधार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सम्भावनामा जोड दिँदै नेपाल औषधि क्षेत्रमा भारत र बंगलादेश जस्ता देशसँग प्रतिस्पर्धा गर्न सक्ने बताए।

उनले भने, ‘प्रविधि मात्र पर्याप्त छैन, नीति पनि नयाँ हुनुपर्छ। नयाँ सरकारले व्यवसायीसँग सहकार्य गरेमा नेपाल औषधि क्षेत्रमा भारत र बंगलादेश जस्ता देशसँग प्रतिस्पर्धा गर्न सक्छ। विदेशी कम्पनीहरूले हामीमाथि गुणस्तरसम्बन्धी आरोप लगाउँछन्, तर हामी अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गर्छौं। मूल्यको हिसाबले पनि स्पष्ट छौं; नेपालले उत्पादन गरेको औषधि संसारकै सस्तोमा उपलब्ध हुन्छ।’

यस्तै, म्याग्नस फार्मा प्रालिमा प्रबन्धक निश्चल जोशीले गुणस्तर सुधार, नयाँ प्रविधि, नयाँ कम्पनीहरूको उदय र पुराना कम्पनीहरूको अपडेटले गर्दा नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताउँछन्।

‘विगत १० वर्षमा नेपाली फार्मास्यूटिकल कम्पनीहरूको बजार हिस्सा उल्लेखनीय रूपमा बढेको छ। पहिले नेपाली कम्पनीहरूको मार्केट शेयर ३०–४० प्रतिशत थियो भने अहिले ५० प्रतिशतभन्दा माथि पुगेको छ,’ उनले भने, ‘गुणस्तर सुधार, नयाँ प्रविधि अपनाउने, नयाँ कम्पनीहरूको उदय र पुराना कम्पनीहरूको अपडेटले गर्दा नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छन्। हामीले मोरिसेस र भेनेजुएलामा पनि निर्यात गरिसकेका छौं, तर अझ बढी निर्यातका लागि राज्यको सहयोग र नीति लचिलो हुन आवश्यक छ।’

स्वास्थ्य पत्रकार संघका अध्यक्ष भिषा काफ्ले नेपालमा उत्पादित औषधिहरू गुणस्तरीय नभएको भन्ने अफवाह गलत रहेको बताउँछन्।
उनका अनुसार गुणस्तरमा भएको कमजोरी वा त्रुटीहरू समयसापेक्ष सुधार गर्न सके नेपाली औषधि उद्योग विश्वस्तरमा प्रतिस्पर्धी बन्न सफल हुनेछ।

एक्स्पोमा सहभागी कम्पनीहरूले नयाँ उत्पादन र प्रविधि प्रदर्शनीमार्फत स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र गुणस्तरमा भएका सुधारको प्रत्यक्ष अवलोकन गराएका थिए।

एक्स्पो तीन दिनमा २५ हजार बढीले एक्स्पो अवलोकन गरेका छन्। एक्स्पोमा २०० भन्दाबढी प्रदर्शनी कक्ष थिए भने कुल प्रदर्शनी कक्षमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो।

एक्स्पोले नेपाली औषधि उद्योगको क्षमता, गुणस्तर र निर्यातको सम्भावनालाई प्रदर्शन गर्दै स्वास्थ्य क्षेत्रमा नेपालले अगाडि बढिरहेको प्रगतिलाई जनसमक्ष ल्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.