चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

डिसी नेपाल
३ चैत २०८२ ८:१६
16
Shares

चितवन। हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू जातिमा प्रचलनमा रहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ ।

भरतपुर महानगरपालिका–२३ संरक्षक रहनेगरी मेलाको व्यवस्थापन गर्न लागिएको हो । वडाध्यक्ष दीपक दवाडीका अनुसार पूजा व्यवस्थापन, सरसफाइ, प्रदर्शनीकक्ष व्यवस्थापन, स्वास्थ्य समिति गठन गरेर काम गरिएको छ । उनले भने,, “अहिले पूजा गर्ने मन्दिर सरसफाइ, सडक मर्मत र सरसफाइलगायतका काम भइरहेको छ ।

पूजा व्यवस्थापनका लागि केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीको संयोजकत्वमा काम सुरु गरिएको छ । यसमा पटिहानी मध्यवर्ती उपभोक्ता समिति सदस्य रहने व्यवस्था गरिएको छ । यस्तै, निकुञ्ज, नेपाली सेना, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिसमेत रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।

सामुदायिक वन क्षेत्रमा २५० वटा प्रदर्शनीकक्ष निर्माण गरी वितरण गरिने उहाँले बताउनुभयो । सरसफाइ, खानेपानी, हेल्प डेक्स, दमकल एम्बुलेन्स र पानीट्याङ्कीको व्यवस्था गरिने छ । विगत वर्षलाई हेर्दा यस वर्ष पनि छ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । पूजा गर्नका लागि बिहान ६ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निकुञ्जमा प्रवेश खुला गरिनेछ भने निकुञ्ज बाहिर मेला बिहान ५ः०० बजेदेखि साँझ ८ः०० बजेसम्म सञ्चालन गरिने छ ।

मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वयमा गरिने छ । पुलमा भक्तजनहरूको भीड नियन्त्रणका लागि नगरप्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.