‘धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुन्छ’

डिसी नेपाल
५ चैत २०८२ १४:५०
48
Shares

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन्।

बिहीबार आयोजित ‘ज्योतिष दिवस समारोह-२०८२’ मा बोल्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने बताएका हुन्।

उनले पछिल्लो समय धेरै व्यक्तिहरूले विषयवस्तु नबुझीकन धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्ता गलत बुझाइलाई हटाउन आवश्यक रहेको बताए।

‘ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध छ। धर्मशास्त्रको कुरा नजानी ज्योतिषीले बोल्दा पनि आपत्ति आइपर्छ। आजका दिनमा पनि धेरै आपत्तिका कुराहरु आएका थिए। धेरै कुराहरु नबुझेर बोलिरहेका हुन्छन्,’ उनले भने।

उनका अनुसार ज्योतिषी, पण्डित, पुरोहित तथा धर्मशास्त्रका विज्ञहरूबीच आपसी समन्वय र समान दृष्टिकोण आवश्यक छ । ‘हामी सबैले एकीकृत रूपमा बोल्नुपर्छ र विचारपूर्वक अभिव्यक्ति दिनुपर्छ,’ उनले भने ।

सोही कार्यक्रममा समितिका पूर्वनिर्देशक पण्डित सूर्यप्रसाद ढुङ्गेलले वर्तमान अवस्थामा धर्म, संस्कार र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए।

उनले परम्परागत मूल्य-मान्यता संकटमा परेको उल्लेख गर्दै यसको संरक्षणमा ज्योतिषीहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
ढुङ्गेलले आधुनिक प्रविधिको विकाससँगै परम्परागत ज्ञान र अध्ययनप्रतिको चासो घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले पर्याप्त अध्ययन र दक्षताको अभावका कारण सेवाग्राहीहरू समेत प्रभावित भइरहेको बताए।

‘हाम्रो परम्परा अहिले आधुनिक वैधानिक प्रविधिको विकासले हाम्रो आफ्नो क्षमताले काम चलिहाल्छ भनेर हाम्रो क्षमता बृद्धि गर्ने कुरा एकातिर घट्दै घट्दै गइरहेको छ ।अर्कोतिर सक्षम भएर सेवा दिनुपर्ने हो यो कुराहरुमा हाम्रो आफ्नै अध्ययनको जागरका कमिले गर्दा हाम्रा उपभोक्ताहरु मर्कामा पनि परेका छन्’, उनले भने।

उनले ज्योतिषशास्त्र, धर्म र संस्कृतिको संरक्षणका लागि ज्योतिषीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय आएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *