अमेरिकी सुरक्षा ग्यारेन्टी असफल, यसरी तोडियो दुबईजस्ता शहरको भ्रम
दुबई । विगतका केही दशकहरूमा जब लेबनानमा बम वर्सिरहेका थिए, इराक आत्मघाती हमलाले थर्किएको थियो र सिरियामा इस्लामिक स्टेटले विदेशीहरूको हत्या गरिरहेको थियो, तब दुबईमा भने उत्सवको माहोल थियो।
विश्वका अर्बपतिहरू दुबईका कृत्रिम टापुहरूमा महल खरिद गरिरहेका थिए, अबु धाबीको लुभ्र संग्रहालय घुमिरहेका थिए वा कतारको मरुभूमिमा सफारीको आनन्द लिइरहेका थिए। अस्थिरता र द्वन्द्वले घेरिएको छिमेकका बीच फारसको खाडीका यी देशहरूले वर्षौँसम्म आफूलाई सुरक्षा र समृद्धिको ‘गढ’ का रूपमा प्रस्तुत गरे। तर, २८ फेब्रुअरीपछि यो सबै बदलिएको छ।
त्यस दिन इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको युद्धमा इरानले इजरायली सहर र क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई मात्र निशाना बनाएन, खाडीमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूलाई पनि प्रहार गर्यो।
युरोपियन पीस इन्स्टिच्युटका खाडी मामिला विज्ञ अन्ना ज्याकब्स खलिफाका अनुसार, यी देशहरूले राष्ट्रपति ट्रम्पलाई यो द्वन्द्वबाट टाढा राख्न हरसम्भव प्रयास गरेका थिए। तर अहिले इरानी मिसाइलहरू सपिङ मल, गगनचुम्बी भवन र पर्यटकले भरिएका बन्दरगाह नजिक खसिरहेका छन्। इरानको एक ड्रोनलाई हावामै नष्ट गरिएपछि त्यसको अवशेष दुबईको प्रसिद्ध ‘बुर्ज अल अरब’ मा खस्यो भने ‘पाम जुमेराह’ स्थित फेयरमोन्ट होटलमा प्रत्यक्ष प्रहार भयो।
यस युद्धले खाडी राष्ट्रहरूको अर्थव्यवस्थामा ठूलो धक्का पुर्याएको छ। कतारको सरकारी तेल कम्पनीले ‘रास लाफान’ औद्योगिक क्षेत्रमा मिसाइल आक्रमणबाट ‘भारी क्षति’ भएको जनाएको छ। होर्मुज स्ट्रेट बन्द हुँदा इन्धन निर्यात ठप्प भएको छ।
वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका अनुसार यस क्षेत्रको पर्यटन उद्योगले मात्रै दैनिक करिब ६० करोड अमेरिकी डलर नोक्सानी बेहोरिरहेको छ। दुबईमा मात्रै मार्चको पहिलो साता ८० हजारभन्दा बढी बुकिङ रद्द भएका छन्। दुबई, कुवेत र अबु धाबी जस्ता अन्तर्राष्ट्रिय हवाई हबहरूमा इरानी मिसाइल र ड्रोन आक्रमणका कारण हजारौँ उडानहरू रद्द भएका छन्।
हार्भर्डको केनेडी स्कूलकी शोधकर्ता एल्हाम फख्रोका अनुसार खाडी देशहरूमा अमेरिकाप्रति ‘विश्वासघात’ को गहिरो भावना छ। यी देशहरूले अमेरिकी सैन्य अखडालाई ठाउँ दिएर र अर्बौँ डलर लगानी गरेर अमेरिकाको क्षेत्रीय नीतिलाई साथ दिएका थिए।
फख्रो भन्छिन्, “यसको बदलामा उनीहरूले कम्तीमा यस्तो युद्धअघि आफूहरूसँग सल्लाह गरियोस् भन्ने अपेक्षा गरेका थिए। तर त्यसो भएन। वासिङ्टन र तेल अभिभमा लिइएका निर्णयका कारण इरानी मिसाइलहरू उनीहरूको राजधानी र तेल पूर्वाधारमा खसिरहेका छन्।”
विज्ञहरूका अनुसार खाडी देशहरूका लागि अबका विकल्पहरू सहज छैनन्। द्वन्द्व जति लामो खिचिन्छ, विदेशी कामदार र पुँजी पलायन हुने खतरा उति नै बढ्छ। च्याथम हाउसका शोधकर्ता नील क्विलियम भन्छन्, “अमेरिकाबाट टाढा जान उनीहरूका लागि सजिलो छैन किनकि हतियार र सुरक्षा सम्झौताहरू दशकौँका लागि गरिएका हुन्छन्।”
अन्ना ज्याकब्स खलिफाको निष्कर्ष छ कि खाडी देशहरूले ‘आफ्नो भूगोल बदल्न सक्दैनन्’। ९ करोड जनसंख्या भएको विशाल छिमेकी इरानसँग सह-अस्तित्वको बाटो खोज्नु नै उनीहरूका लागि दीर्घकालीन समाधान हुन सक्छ, ताकि उनीहरूको देश र वैश्विक ऊर्जा बजार सधैँ जोखिममा नरहोस्।







डिसी नेपाल







Facebook Comment