भक्तपुरबाट लागुऔषधसहित दुईजना पक्राउ

डिसी नेपाल
१८ जेठ २०८३ २२:२१

काठमाडौं। सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुईजनालाई पक्राउ गरिएको जानकारी दिएको छ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागुऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुईजनालाई नियन्त्रणमा लिएको डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार विशेष सूचनाको आधारमा जेठ १२ गते राति करीब साढे २ बजे भक्तपुरको मध्यपुर थिमी–६, कमेरेटारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

थापाका अनुसार काभ्रे घर भई भक्तपुर कटुन्जे बस्ने ४१ वर्षीय विरध्वज तामाङलाई आवश्यक सोधपुछको लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको सूचनाको आधारमा ललितपुरको गोदावरी नगरपालिका-२, विशंखुनारायण मन्दिरनजिकबाट पतकरले छोपेको अवस्थामा ६ बोरा र दुई कार्टुनमा लुकाइएको अवस्थामा लागुऔषध फेला पारेको थापाले जानकारी दिए।

उनकै सूचनाको आधारमा लागुऔषध लुकाउने अर्का व्यक्ति काभ्रेको कोसीपारी–१ घर भई ललितपुरको हरिसिद्धी बस्ने ट्याक्सी चालक ३८ वर्षीय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

विरध्वजलाई जेठ १२ गते नै आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थिमीमा बुझाइएको थापाले जानकारी दिए। त्यस्तै आज नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागुऔषध र ट्याक्सीसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *