भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षामा राज्यको साथ रहने शिक्षामन्त्रीको प्रतिबद्धता
काठमाडौं। कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनका अवसरमा शिक्षा तथा खेलकुदमन्त्रीले भोटेकोशी बाढीबाट अभिभावक गुमाएका तथा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन राज्यले विशेष पहल गरिरहेको बताए।
मन्त्रीका अनुसार भोटेकोशी बाढीका कारण कतिपय बालबालिकाले आमा-बुवा त कतिपय परिवारले आफ्ना सन्तान गुमाएका छन्।
विपत्तिका कारण अभिभावकविहीन बनेका बालबालिकाको भविष्य अँध्यारो हुन नदिन सरकारले उनीहरूको शिक्षालाई प्राथमिकतामा राखेर सहयोगका कार्यक्रम अघि बढाएको उनले स्पष्ट पारे।
बाढी प्रभावित बालबालिकाको अध्ययनलाई निरन्तरता दिने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि बढाएको छ।
यस योजनाअन्तर्गत प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यकता र अवस्थाका आधारमा आवासीय सुविधासहितको पूर्ण छात्रवृत्ति, आवासविनाको पूर्ण छात्रवृत्ति तथा आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
छात्रवृत्ति वितरणमा बुवा र आमा दुवै गुमाएका बालबालिकालाई पहिलो प्राथमिकता दिइनेछ। त्यसैगरी, बुवा वा आमामध्ये एक जना गुमाएकालाई दोस्रो र अन्य रूपमा प्रभावित बालबालिकालाई आवश्यकता र औचित्यका आधारमा सहयोग उपलब्ध गराइने मन्त्रीले जानकारी दिए।
यो योजना काठमाडौंमा मात्र सीमित रहेर नबनाइएको उल्लेख गर्दै मन्त्रीले मन्त्रालयको टोलीले केही दिनअघि नुवाकोट पुगेर प्रभावित विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष भेटघाट गरेको बताए।
त्यसक्रममा विदुर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा शिक्षा विकास र समन्वय इकाइका प्रमुखसँग छलफल गरी वास्तविक अवस्था र तत्कालीन आवश्यकताका आधारमा योजना तयार पारिएको उनले जानकारी दिए।
कुशे औँसीको सन्दर्भ जोड्दै मन्त्रीले विपत्तिले अभिभावक खोसेका बालबालिकाप्रति राज्य पूर्ण संवेदनशील रहेको बताए।
“सबै बालबालिकाले बुवाको हात समातेर हुर्कने अवसर पाउँदैनन्, विपत्तिले धेरैबाट त्यो खोसेको छ। हामी उनीहरूको अभिभावक फिर्ता ल्याउन सक्दैनौँ, तर उनीहरूको भविष्य उज्ज्वल बनाउने जिम्मेवारी राज्यले अवश्य लिनेछ,” उनले भने।
कुशे औँसीका अवसरमा आफ्ना बुवाप्रति श्रद्धा व्यक्त गर्दै मन्त्रीले अभिभावक गुमाएका बालबालिकाहरूप्रति सहानुभूति प्रकट गरे र उनीहरूको उज्ज्वल भविष्यका लागि राज्यको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment