युक्रेनको शपिङ मलमा रूसको आक्रमण, ५ जनाको मृत्यु ६७ घाइते
काठमाडौं । पूर्वी युक्रेनको निप्रोपेत्रोव्स्क क्षेत्रस्थित पाभलोह्राद शहरमा रहेको एक किनमेल केन्द्र (शपिङ मल) मा रुसी ड्रोन आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सो जानकारी सार्वजनिक गरिएको हो।
युक्रेनका गृहमन्त्री इभान विहिव्स्कीका अनुसार दिउँसोको समयमा भएको उक्त आक्रमणबाट स्थानीय पसल तथा सवारी साधनहरूमा ठूलो क्षति पुगेको छ। “सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका बेला” सो आक्रमण भएको गृहमन्त्री विहिव्स्कीले बताएका छन्। युक्रेनी सञ्चारमाध्यमहरूका अनुसार यसै साताको शुरुआतमा जापोरिजिया र सुमी शहरका अन्य दुई वटा किनमेल केन्द्रहरूलाई पनि रुसी हवाई आक्रमणको निशाना बनाइएको थियो।
यसैबीच, रुसले बुधबार राति आफ्नो पर्यटकीय शहर सोचीमा युक्रेनले समुद्री ड्रोनमार्फत आक्रमण गर्दा २८ जना घाइते भएको जनाएको छ। साथै, अन्य युक्रेनी आक्रमणहरूमा परि थप तीन जनाको मृत्यु भएको दाबी पनि रुसले गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार वर्षभन्दा अघि युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेयता दुई देशबीच पूर्णस्तरको युद्ध जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिनिधिहरूले अघि सारेको नयाँ शान्ति प्रयासबाट हालसम्म कुनै ठोस परिणाम निस्कन सकेको छैन। ती प्रतिनिधिहरूले मस्कोमा पुटिन र किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment