नेपाल र न्यूजिल्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता: विपद् व्यवस्थापन र जलवायु वित्तमा सहकार्यको चर्चा

डिसी नेपाल
२६ भदौ २०८३ १०:५४

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र रूपमा अगाडि बढाइएको जानकारी गराए।

साथै, उनले बाढीका कारण बेपत्ता भएका सबै नागरिकहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकाे प्रधानमन्त्री शाहकाे सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा न्यूजिल्यान्ड सरकारले नेपालका लागि उपलब्ध गराएको २० लाख न्यूजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरे।

नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोग प्राप्तिका लागि न्यूजिल्यान्ड सरकारको रचनात्मक सहयोग र समर्थनका लागि अनुरोध गरे।

सोही क्रममा न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा गएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति न्यूजिल्यान्ड सरकार तथा त्यहाँका जनताका तर्फबाट हार्दिक समवेदना र पूर्ण ऐक्यबद्धता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *