मध्यपूर्वमा युद्धको दायरा टाढासम्म फैलियो, दुबईमा शक्तिशाली विष्फोट

डिसी नेपाल
७ चैत २०८२ १३:०७
1.2k
Shares

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको दायरा लगातार बढ्दै गएको छ। शनिबार ईरानले हिन्द महासागरमा रहेको अमेरिका–ब्रिटेनको रणनीतिक सैन्य बेस ‘डिएगो गार्सिया’तर्फ दुई मध्यम दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ।

यस आक्रमणपछि दुबईमा पनि एयर डिफेन्स सिस्टम सक्रिय भएको र जोरदार विस्फोटको आवाज सुनिएको बताइएको छ। हिन्द महासागरमा युद्धको यो विस्तार ४ मार्चमा अमेरिकी पनडुब्बीले ईरानी युद्धपोत ‘आइआरआइएस देना’ डुबाएपछि भएको हो, जसमा ८५ भन्दा बढी मानिसको मृत्यु भएको थियो।

वाल स्ट्रीट जर्नल का अनुसार, ईरानले शनिबार हिन्द महासागरमा रहेको संयुक्त अमेरिका–ब्रिटेन सैन्य बेस डिएगो गार्सियामाथि दुई मिसाइल प्रहार गरेको थियो।

ईरानी भूभागबाट करिब ४,००० किलोमिटर टाढा रहेको यो अड्डामाथि भएको आक्रमण अहिलेसम्मकै ठूलो र दुर्लभ मानिएको छ। तर अमेरिकी अधिकारीहरूले दुवै मिसाइललाई हवाईमै खसालिएको पुष्टि गरेका छन्। एक मिसाइल उडानकै क्रममा असफल भएको थियो भने अर्को अमेरिकी युद्धपोतबाट प्रक्षेपित इन्टरसेप्टर (एसएम-३) द्वारा नष्ट गरिएको थियो।

डिएगो गार्सिया चागोस द्वीप समूहमा अवस्थित छ र यो अमेरिका–ब्रिटेनको महत्वपूर्ण सैन्य अड्डा हो, जसलाई अफगानिस्तान तथा इराकमा अमेरिकी बमबारी अभियानका लागि स्टेजिङ हबको रूपमा प्रयोग गरिएको थियो।

ईरानले डिएगो गार्सियालाई निशाना बनाउनु सैन्य विशेषज्ञहरूका लागि चिन्ताको विषय बनेको छ। अहिलेसम्म ईरानको मिसाइल दायरा सीमित मानिँदै आएको थियो, तर ४,००० किलोमिटर टाढा आक्रमण गर्ने प्रयासले तेहरान युरोपमा रहेका अड्डाहरूलाई समेत निशाना बनाउन सक्ने क्षमता भएको संकेत दिएको छ।

पेन्टागनले यसबारे आधिकारिक प्रतिक्रिया नदिए पनि रणनीतिकारहरूको भनाइमा यसले युद्धको भूगोल नै परिवर्तन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *