धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा हुँदै
धनुषा । आज देखि एसइई परीक्षा सुरु भएको छ । धनुषामा बिहान ८ बजेदेखि सम्पूर्ण परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा परीक्षा सुरु भएको छ । विगतका वर्षहरू भन्दा यस वर्षको परीक्षामा व्यापक परिवर्तन देखिएको छ ।
धनुषासहित मधेश प्रदेशमा बढी चिट चोरी, प्रश्न पत्र बाहिरिने जस्ता क्रियाकलापहरू हुने गरेकोमा यस वर्षको माहोल भने पूर्णतः परिवर्तन भएको देखिएको छ ।
मधेश प्रदेश सरकारले लागु गरेको नयाँ नियम अनुसार परीक्षा केन्द्रको २०० मिटर वरिपरि कुनै विद्यार्थीको अभिभावक देखा परे विद्यार्थीसमेतलाई कारबाही हुने भनिएको छ । प्रदेश सरकारको यो नियमले व्यापक परिवर्तन भएको देखिएको छ । धनुषाका परीक्षा केन्द्रको बाहिर सुरक्षाकर्मीबाहेक कोही कसैको उपस्थिति देखिएको छैन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुँईटेलले सरकारको नियम अनुसार यस वर्षको एसइई उत्कृष्ट ढङ्गले भइरहेको बताए । उनले केन्द्राध्यक्षले समेत मोबाइल बोक्न नपाउने जानकारी दिए । कुनै विद्यार्थीले कुनै किसिमको डिजिटल ग्याजेट, घडी, मोबाइल ल्याएको पाइए सोझै नष्ट गर्ने आदेश दिइएको उनले जानकारी दिए ।
यस वर्ष परीक्षा केन्द्रमै उत्तर पुस्तिका चेकजाँच गर्ने भनिएकोले आजै दिउँसो सम्बन्धित निकायहरूसँग बैठक बसी यस बारे थप निर्णय र कामहरू अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।
धनुषामा यस वर्ष १३,२०० भन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।







डिसी नेपाल







Facebook Comment