५० वर्षपछि नासाको चन्द्र मिशन, उड्यो आर्टेमिस २
काठमाडौं । ५० वर्षभन्दा लामो अन्तरालपछि नासाले चन्द्रमाका लागि आफ्नो पहिलो मिशन सुरु गरेको छ। ‘आर्टेमिस २’ मिशनको रकेटले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उडान भरेको छ। १० दिनको यस मिशनमा अन्तरिक्ष यात्रीहरू चन्द्रमाको सतहमा ओर्लिने छैनन्, बरु चन्द्रमाको परिक्रमा गर्दै पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढाको दुरीसम्म पुग्नेछन्।
यस मिशनमा तीन अमेरिकी अन्तरिक्ष यात्री—रीड वाइसम्यान, क्रिस्टीन कोच, भिक्टर ग्लोभर र क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी हेन्सेन सहभागी छन्। यो यात्राले भविष्यमा चन्द्रमामा अवतरण गर्ने र त्यहाँ स्थायी आधार बनाउने बाटो तय गर्नेछ। नासाको आर्टेमिस कार्यक्रममा अहिलेसम्म करिब ९३ अर्ब डलर खर्च भइसकेको छ।
धेरैलाई लाग्न सक्छ कि अपोलो मिशनले इतिहास रचिसकेपछि अब चन्द्रमामा नयाँ के बाँकी छ ? तर वैज्ञानिकहरूका अनुसार चन्द्रमाको सुख्खा र उजाड देखिने सतहभित्र अमूल्य स्रोतहरू लुकेका छन्। पृथ्वीमा विरलै पाइने ‘रेयर अर्थ एलिमेन्ट्स’, फलाम, टाइटेनियम र हिलियम जस्ता तत्वहरू चन्द्रमामा प्रचुर मात्रामा हुन सक्छन्।
चन्द्रमाको ध्रुवीय क्षेत्रका अँध्यारा खाल्डोहरूमा बरफको रूपमा पानी जमेको छ। यो पानी पिउनका लागि मात्र नभई अक्सिजन निकाल्न र अन्तरिक्ष यानका लागि इन्धन बनाउन समेत प्रयोग गर्न सकिन्छ।
सन् १९६० र ७० को दशकमा अमेरिकाको प्रतिस्पर्धा सोभियत संघसँग थियो भने अहिले चीनसँग छ। चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ। सन् १९६७ को संयुक्त राष्ट्रसंघको सन्धिले कुनै पनि देशलाई चन्द्रमाको मालिक बन्न रोक लगाएको छ, तर त्यहाँका स्रोतहरू प्रयोग गर्ने र आफ्नो उपस्थिति कायम राख्ने होडबाजी भने तीब्र छ।
नासाको अन्तिम लक्ष्य सन् २०३० को दशकसम्ममा मङ्गल ग्रहमा मानिस पठाउनु हो। मङ्गल ग्रहमा जानुअघि चन्द्रमालाई एक ‘टेस्टिङ ग्राउन्ड’ को रूपमा प्रयोग गरिनेछ। चन्द्रमामा बस्ने र काम गर्ने प्रविधि सिकिसकेपछि मात्र मङ्गल ग्रहको कठिन यात्रा सुरक्षित हुने वैज्ञानिकहरूको भनाइ छ।
चन्द्रमा ४.५ अर्ब वर्षअघि पृथ्वीकै एउटा हिस्सा फुटेर बनेको मानिन्छ। पृथ्वीमा हावा, पानी र टेक्टोनिक प्लेट्सका कारण पुराना रेकर्डहरू मेटिएका छन्, तर चन्द्रमामा ती सुरक्षित छन्। त्यसैले चन्द्रमालाई पृथ्वीको इतिहास बताउने एक ‘शानदार संग्रहालय’ मानिन्छ।
आर्टेमिस मिशनलाई ४के रिजोल्युसनमा प्रत्यक्ष प्रसारण गरिनेछ, जसले विश्वका नयाँ पुस्तालाई विज्ञान, प्रविधि र इन्जिनियरिङ क्षेत्रमा लाग्न प्रेरित गर्ने नासाको विश्वास छ। बेलायती अन्तरिक्ष यात्री डा. हेलेन शरमन भन्छिन्, “यदि हामी एकजुट भएर काम गर्छौं भने मानवताका लागि ठूला उपलब्धिहरू हासिल गर्न सक्छौं भन्ने यसले प्रमाणित गर्नेछ।”







डिसी नेपाल







Facebook Comment