हुथीको युद्ध विस्तार गर्ने धम्कीलगत्तै इरानद्वारा अमेरिकी सैन्य प्रतिष्ठानहरूमा आक्रमण तीव्र

डिसी नेपाल
५ साउन २०८३ ११:२८

तेहरान। यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी गरेर युद्ध भड्काउने धम्की दिएपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी राडार, हवाई रक्षा प्रणाली र प्रशासनिक भवनहरू लगायतका सैन्य सुविधा केन्द्रहरूलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ।

अप्रिलमा गरिएको युद्धविराम र जुनको सम्झौता ध्वस्त भएपछि मध्यपूर्वमा द्वन्द्व पुनः भड्किएको हो। यसै क्रममा इरानको रिभोलुसनरी गार्ड्सले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्यांकरहरूमा मंगलबार विस्फोट गराई ठुलो आगलागी गराउनुका साथै तिनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसअघि युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सी (युकेएमटीओ) ले ओमानको तटमा एउटा अज्ञात प्रक्षेपण तेल ट्यांकरमा ठोक्किएको रिपोर्ट गरेको थियो। पछिल्लो झडपमा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ।

होर्मुज जलमार्गमा व्यापारिक जहाजहरूमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु यस आक्रमणको मुख्य उद्देश्य रहेको अमेरिकाले जनाएको छ।

पेन्टागनका अनुसार गत जुलाई ७ देखि सुरु भएको यो द्वन्द्वका कारण हालसम्म करिब एक सय जना अमेरिकी सैनिक घाइते भइसकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि इरानले चर्को मूल्य तिर्नुपर्ने चेतावनी दिएका छन्  भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा भड्किइसकेको बताउनुभएको छ।

इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई रक्षा प्रणाली, राडार र प्रशासनिक भवनहरूलाई लक्षित गरी मिसाइल आक्रमणको थप निर्णायक तयारी थालेको छ।

यसैबिच तेहरानका सहयोगी यमनी हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्ध विस्तारको धम्की दिएका छन्। हुथीहरूको यस कदमले रियादको तेल निर्यातका लागि होर्मुजको क्षमतालाई जोखिममा पारी विश्वव्यापी अर्थतन्त्रमा ठूलो असर पार्ने आकलन गरिएको छ।

साउदी अरेबियाले भने हुथी विद्रोहीको खतराको कडा निन्दा गर्दै यमनी जनता र उनीहरूको सरकारलाई आफ्नो समर्थन जारी रहने स्पष्ट पारेको छ। हाल तेहरानले होर्मुज जलमार्गमा नाकाबन्दी पुनः लागू गरेको छ भने वासिङ्टनले इरानी बन्दरगाहहरू अवरुद्ध गरेर प्रतिक्रिया दिइरहेको छ।

विश्व बजारमा तेल आपूर्ति गर्ने मुख्य जलमार्ग प्रभावित भई लामो समय युद्ध खिचिँदा तेलको मूल्य उच्च स्तरमा पुगेको छ। यद्यपि, होर्मुज अवरुद्ध भए पनि साउदी अरेबियाले आफ्नो लाल सागरस्थित यानबु बन्दरगाह हुँदै लाखौँ ब्यारेल तेल निर्यात जारी राख्न सक्षम भएको जनाएको छ।

चर्को लडाइँ र कूटनीतिक हलचलबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्ताहरू मार्फत वासिङ्टनसँग कूटनीतिक आदान-प्रदान अझै जारी रहेको जानकारी दिएका छन्।

अर्कोतर्फ, इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका क्रममा इस्लामाबाद पुग्नुभएको छ, जहाँ उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरसँग भेट्ने कार्यक्रम रहेको छ। यसैबीच, लेबनानका राष्ट्रपति जोसेफ आउनले मंगलबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *