सिक्किम सुरुङ दुर्घटना: आठ शव फेला, २५ कामदार फसेको आशंका
काठमाडौं । सिक्किमको नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन सुरुङमा भएको दुर्घटनापछि अहिलेसम्म ८ जनाको शव निकालिएको छ।
यो सुरुङ एनएचपीसीको टिस्टा जलविद्युत परियोजना (छैटौं चरण) को एक हिस्सा हो।
नाम्ची जिल्लाका उपायुक्त अनुपा तामलिङले दुर्घटनामा परी मृत्यु भएकाहरूको पुष्टि गर्दै एनडीआरएफ र अग्निशमन विभागका टोलीहरूले सुरुङ भित्र फसेका कामदारहरूलाई उद्धार गर्न अभियान चलाइरहेका बताइन्।
सोमबार पहिरो गएपछि सुरुङको एक भाग भत्किएर भग्नावशेषले प्रवेशद्वार बन्द भएपछि दुर्घटना भएको थियो। प्रशासनका अनुसार सुरुङमा ग्यास चुहावटले उद्धार कार्यमा ठूलो चुनौती खडा गरिरहेको छ।
जिल्ला उपायुक्तले बीबीसी न्यूज हिन्दीलाई भने, “सम्बन्धित विभागहरूबाट प्राप्त जानकारी अनुसार, सुरुङ भित्र कम्तिमा २५ जना फसेको आशंका गरिएको छ। उद्धार टोलीहरूले भित्र फसेका कामदारहरूसम्म पुग्न र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न निरन्तर प्रयास गरिरहेका छन्।”
अनुपा ताम्लिङले फसेका कामदारहरू सुरुङ भित्र धेरै गहिराइमा रहेको र अक्सिजनको अभाव र ग्यास चुहावटको समस्या रहेको बताइन्। उनले उद्धार टोलीले हरसम्भव प्रयास गरिरहेको तर हालको अवस्था अत्यन्तै कठिन रहेको बताइन्।
एनडीआरएफ बाहेक, एसडीआरएफ, सिक्किम प्रहरी, अग्नि तथा आपतकालीन सेवा, स्वास्थ्य विभाग र अन्य विभागका टोलीहरू पनि उद्धार कार्यमा संलग्न छन्।






डिसी नेपाल





Facebook Comment