पृथ्वीजस्तै तापक्रम भएको ग्रहमा वायुमण्डल पनि भेटियो, जीवनको सम्भावनाबारे नयाँ आशा
काठमाडौं । खगोलशास्त्रीहरूले पहिलो पटक सौर्यमण्डल बाहिर रहेको एक सुदूर ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहमा वायुमण्डलको उपस्थिति पत्ता लगाएका छन्।
वैज्ञानिकहरूका अनुसार यो खोज हाम्रो सौर्यमण्डल बाहिर पनि पृथ्वी जस्तै जीवनका लागि अनुकूल परिस्थिति भएका ग्रहहरू हुनसक्छन् भन्ने कुराको हालसम्मकै सबैभन्दा बलियो प्रमाण हो।
पृथ्वीबाट ४८ प्रकाश वर्ष टाढा रहेको ‘LHS 1140b’ नाम दिइएको यो ग्रहले हाम्रो सूर्यभन्दा धेरै सानो र चिसो ‘रातो तारा’ को परिक्रमा गरिरहेको छ। प्रसिद्ध वैज्ञानिक पत्रिका ‘साइन्स’ मा प्रकाशित यस अध्ययनका मुख्य लेखक तथा हार्भर विश्वविद्यालयका डा. कोलिन चेरुबिमले यस खोजलाई “विज्ञान क्षेत्रको ठूलो उपलब्धि” भनेका छन्।
अध्ययन अनुसार LHS 1140b को वायुमण्डलमा हीलियम ग्यास फेला परेको छ। हीलियम आफैँमा जीवनका लागि उपयुक्त ग्यास मानिँदैन, तर यो वायुमण्डलको माथिल्लो तहमा मात्र हुन सक्ने र तल्लो तहहरूमा जीवनका लागि आवश्यक अन्य ग्यासहरू हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ। हीलियम आफैंमा हलुका ग्यास भएकोले यो वायुमण्डलको माथिल्लो भागमा हुन्छ ।
वैज्ञानिकहरूका अनुसार कुनै पनि ग्रहमा जीवनको सम्भावना हुनका लागि त्यहाँ पानी हुनु आवश्यक छ र पानी सामान्य तरल अवस्थामा हुनका लागि ग्रह आफ्नो ताराबाट उपयुक्त दूरीमा हुनुपर्छ। अत्यधिक तातो वा अत्यधिक चिसो नहुने यस सन्तुलित क्षेत्रलाई खगोलशास्त्रमा ‘गोल्डिलक्स जोन’ वा ‘बस्न योग्य क्षेत्र’ भनिन्छ।
अहिलेसम्म वैज्ञानिकहरूले ६,००० भन्दा बढी बाह्यग्रहहरू खोजिसकेका छन् र गोल्डिलक्स जोनमा रहेका सयौँ ग्रहहरूमध्ये केही दर्जन मात्र पृथ्वी जस्ता चट्टानी छन्। तर, तीमध्ये कुनैमा पनि वायुमण्डल भेटिएको थिएन। LHS 1140b वायुमण्डल फेला परेको पहिलो चट्टानी ग्रह बनेको छ।
हार्भर विश्वविद्यालयका डा. डेभिड शार्बोनोले ब्रम्हाण्डमा “के हामी एक्लै छौँ ?” भन्ने ऐतिहासिक प्रश्नको उत्तर खोज्ने दिशामा यो अध्ययन कोशेढुङ्गा साबित हुने बताएका छन्। LHS 1140b बाहेक खगोलशास्त्रीहरू अन्य केही सम्भावित ग्रहहरूमा पनि अध्ययन गरिरहेका छन्:
K2-18b: पानीले भरिएको अनुमान गरिएको यो ‘सब-नेप्चुन’ ग्रहमा सामुद्रिक जीवहरूसँग सम्बन्धित ‘डाइमिथाइल सल्फाइड’ ग्यासको सङ्केत देखिएको थियो। तर, सन् २०२५ मा नासाले गरेको पुनः विश्लेषणले सो सङ्केत जीवन बिना नै प्राकृतिक प्रक्रियाबाट पनि बन्न सक्ने देखाएको छ।
TRAPPIST-1 प्रणाली: ट्र्यापिस्ट-१ ताराको परिक्रमा गर्ने सातवटा चट्टानी ग्रहहरू अझै रहस्यमय छन्। नासाको ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले ट्र्यापिस्ट-१ डी (TRAPPIST-1d) मा पृथ्वी जस्तो वायुमण्डलको सम्भावनालाई खारेज गरिदिएको छ भने ट्र्यापिस्ट-१ ई (TRAPPIST-1e) को तथ्याङ्क अझै अस्पष्ट छ।
अहिलेका लागि वैज्ञानिकहरूको ध्यान LHS 1140b को वायुमण्डलको तल्लो तहमा अन्य जीवन्सम्बन्धी ग्यासहरू छन् कि छैनन् भन्ने अध्ययनमा केन्द्रित भएको छ।






डिसी नेपाल





Facebook Comment