सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन

डिसी नेपाल
२० चैत २०८२ १५:१२
668
Shares

काठमाडौं। अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ।

निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि–सुट) गर्ने निर्णय सार्वजनिक गरेको हो।

विज्ञप्ति अनुसार गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो। सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको हो। निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने (रि–सुट) स्पष्ट पारेको छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुनेछ। यद्यपि, पीडित युवतीको पीडाअघि यो आर्थिक क्षति सामान्य रहेको कम्पनीको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधमा आरोप लागिसकेका जो कोही व्यक्ति पनि हाम्रो फिल्मको सदस्य हुन सक्दैनन्। पाण्डव जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ।’

निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ। आरोपित लमसालले कानुनी बाटो अपनाउने प्रक्रिया आफ्नै ठाउँमा भए पनि नैतिक रूपमा विवादित भइसकेकाले उनलाई फिल्ममा राखिराख्न उचित नहुने प्रस्तुतकर्ता श्रेष्ठको भनाइ छ।

बसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतका चलेका कलाकारहरूको मुख्य भूमिका रहेको छ। लमसालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गरिन्छ भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *