तृषा कृष्णनले फिल्म उद्योग छोड्न लागेकी हुन् ?
काठमाडौं । दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री तृषा कृष्णन यतिबेला आफ्नो व्यक्तिगत जीवन र करियरलाई लिएर सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छिन्। दक्षिणका सुपरस्टार विजय (थलपति विजय) सँगको प्रेम सम्बन्ध र अभिनय यात्रालाई पूर्णविराम दिँदै राजनीतिमा लाग्न लागेको भन्ने हल्लाले केही समययता बजार तताएको थियो।
विजयले हालै आफ्नो अभिनय करियर त्यागेर ‘तमिलगा वेत्री कझगम’ नामक राजनीतिक पार्टी गठन गरेपछि, तृषाले पनि उनकै पदचाप पछ्याउँदै चलचित्र क्षेत्र छोड्न लागेको अड्कलबाजी गरिएको थियो। यो अफवाहलाई पत्रकार चित्र लक्ष्मणनको एउटा बयानले थप बल पुर्याएको थियो, जसमा तृषाले हालसम्म कुनै नयाँ फिल्म साइन नगरेको उल्लेख गरिएको थियो।
विगत केही समयदेखि विजय र तृषाको नाम एकसाथ जोडिने गरेको छ। विशेषगरी विजयकी पत्नी संगीता सोर्नालिंगमले अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएपछि र विजय अर्की महिलासँग सम्बन्धमा रहेको आरोप लगाएपछि यी चर्चाहरू अझ तीव्र भएका थिए। केही समयअघि विजय र तृषालाई एक वैवाहिक समारोहमा सँगै देखिएपछि उनीहरूको सम्बन्धको चर्चाले झन् उचाइ लिएको थियो।
यी सबै अफवाहहरूमाथि पूर्णविराम लगाउँदै तृषाले इन्स्टाग्राममार्फत व्यङ्ग्यात्मक शैलीमा स्पष्टीकरण दिएकी छिन्। उनले अफवाह फैलाउनेहरूलाई लेखेकी छिन्: “भनिँदै छ कि मैले फिल्म छोडेँ, एक धनी व्यापारीसँग विवाह गरेँ र ४ जना बच्चाहरू हुर्काउँदै छु, जो भर्खरै दुई वर्षका भए। अरू पनि केही भनूँ कि आजको कल्पनाको कोटा पूरा भयो?”
तृषाको विवाह वा करियरको बारेमा हल्ला फैलिएको यो पहिलो पटक भने होइन । अक्टोबर २०२५ मा पनि उनले चण्डीगढका एक व्यापारीसँग विवाह गर्न लागेको रिपोर्टहरू सार्वजनिक भएका थिए। त्यतिबेला पनि उनले “मानिसहरूले मेरो लागि मेरो जिन्दगीको योजना बनाइदिँदा मलाई रमाइलो लाग्छ, अब उनीहरूले मेरो हनिमुन प्लान गरुन् भनेर पर्खिरहेकी छु” भन्दै जवाफ दिएकी थिइन्।
उनको हालैको एउटा भावुक पोस्ट, जसमा उनले “माया नै सबैथोक होइन, तर माया बिना सबै कुरा अर्थहीन छ” भनेर लेखेकी थिइन्, त्यसले पनि उनले उद्योग छोड्न लागेको आशंका जन्माएको थियो। तर, आफ्नो पछिल्लो पोस्टमार्फत उनले आफू अहिले नै अभिनयबाट टाढा नहुने र फैलिएका सबै कुराहरू निराधार रहेको स्पष्ट पारेकी छिन्।







डिसी नेपाल







Facebook Comment