भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा अवरोधविरुद्व सर्लाहीमा विरोध

डिसी नेपाल
२९ चैत २०८२ १९:४६
92
Shares

सर्लाही। जिल्लामा भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा प्रशासनले अवरोध सिर्जना गरेको भन्दै विभिन्न राजनीतिक दलहरूले आपत्ति जनाएका छन्।

आइतबार जारी गरिएको सर्वदलीय प्रेस विज्ञप्तिमा विगतदेखि भारतीय नम्बर प्लेटका सवारी साधनहरू करिब ३० किलोमिटरसम्म सहज रूपमा आवतजावत गर्दै आएको उल्लेख गर्दै हाल जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा ती सवारी साधनहरू रोकेर बिना भन्सार सञ्चालनमा रोक लगाउने मानसिकता देखाएको आरोप लगाइएको छ।

विज्ञप्तिमा यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्ववत् अवस्थामै भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न प्रशासनसँग आग्रह गरिएको छ। अन्यथा, माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।

विज्ञप्तिमा नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष रामस्वार्थ महतो लगायतका नेताहरूको हस्ताक्षर रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *