अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

डिसी नेपाल
२९ चैत २०८२ २०:३१
104
Shares

अमेरिका। पत्रकारिता, सामाजिक अभियान र राजनीतिमा सक्रिय सतिश चापागाईं मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सका लागि चुनावी अभियानमा होमिएका छन्।

मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य समेत रहेका चापागाईंले मेरिल्याण्डको डिष्ट्रिक ७ ए बाट हाउस अफ डेलिगेट्स बन्नका लागि चुनावी अभियान अघि बढाएका छन्। गत महिना नै उम्मेद्वारी दर्ता गराई अहिले चुनावी प्रचार प्रसारमा चापागाई सक्रिय भएका छन्।

मेरिल्याण्डमा नेपालीसहित आप्रवासीहरुको बसोबास उल्लेख्य मात्रामा रहेको छ। लामो समयदेखि मेरिल्याण्डको बाल्टिमोरमा बस्दै आएका चापागाई नेपाली सम्बद्ध स्थानीय संघ संस्था र अभियानमा पनि निरन्तर सक्रिय रहेका छन्।

वाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिकाका पूर्व उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ, अमेरिकाका सल्लाहकार तथा पूर्व मिडिया संयोजक चापागाई नेपाली समुदायका साथै वाल्टिमोरको आप्रवासी समुदायमा पनि परिचित छन्।

पार्टी केन्द्रीय सदस्यको हिसाबले र सामाजिक अभियन्ताको रुपमा चापागाईं निरन्तर सक्रिय रहेका छन्। चापागाईंले नेपाली समुदायको बाक्लो उपस्थितिकाबीच आफ्नो चुनावी प्रचार अभियानको आरम्भ गर्दै आफ्नो उम्मेद्वारी सबै नेपाली समुदायको उम्मेद्वारी रहेको चर्चा गर्दै सहयोगका लागि आग्रह गरे। उनले आफ्नो उम्मेद्वारी सबै नेपालीका सन्ततीहरुका लागि प्रवेशद्वारको रुपमा रहेको बताए।

चापागाईंको डिष्ट्रिकमा उनको डेमोक्रेटिक पार्टीको प्राइमरीमा २ सिटका लागि ४ जनाको उम्मेद्वारी परेको छ। उनले डेमोक्रेटिक पार्टीभित्र प्राइमरी लड्न लागेका हुन्। चापागाईंसँगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेण्ड रेनोल्ड जुनियर प्रतिस्पर्धामा छन्।

चापागाईं अहिले सोही डिष्ट्रिकबाट उक्त पार्टीको केन्द्रीय सदस्य छन्। चार बर्ष अगाडि चापागाईंले ४ हजार १ सय मत ल्याएर पार्टीको केन्द्रीय सदस्य पदमा विजय हासिल गरेका थिए।आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि मेरिल्याण्डमा राज्यमा यही जुन २३ मा प्राइमरी निर्वाचन हुँदैछ।

“पार्टी कै साथीहरुको सल्लाह, सुझाब र सहयोगबाट मैले उम्मेद्वारी दर्ता गराएको छु।” चापागाईंले भने। प्राइमरीका लागि आगामी जुन २३ गते निर्वाचन हुँदैछ। प्राईमरीमा निर्वाचन जिते भने चापागाईंले रिपब्लिकन उमेद्वारसँग नोभेम्बरमा पुनः लड्नुपर्ने छ।

पछिल्लो मतगणना अनुसार ८३ हजार जनसंख्या रहेको यस डिष्ट्रिकमा ४ प्रतिशत एशियन मूलका मानिस बसोबास गर्दछ। प्रतिशतका आधारमा यो क्षेत्रमा ४४ दशमलव ९ प्रतिशत रिपब्लिकन, ३४ दशमलव ७ प्रतिशत डेमोक्र्याटिक र १८ दशमलव ९ ईन्डिपेन्डेन्ट मतदाता रहेका छन्।

२००८ देखि बाल्टिमोरमा बस्दै आएका चापागाईं नेपालमा रहँदा १२ वर्षे आफ्नो पेशागत पत्रकारिता जीवनमा विभिन्न संचार माध्यमहरुको काम गरेका थिए। पत्रकारिताकै दौरान प्रशिक्षकदेखि नेपाल प्रेस युनियनको पाल्पा जिल्ला सभापति र केन्द्रीय उपाध्यक्ष समेत भएका थिए।

नेपाल अमेरिका पत्रकार संघ नेजाका हाल विधान समितिका संयोजक समेत रहेका चापागाईं साहित्य क्षेत्रमा पनि संलग्न देखिन्छन्। उनले रचना गरेका गीतहरु निकै लोकप्रिय रहेका छन्। श्रीमती र दुई छोरीका साथ बाल्टिमोरमा बस्दै आएका उनी व्यवसायी समेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *