नेपालको विकाससँग जोडिएको जंगल रिसोर्ट

पूर्ण ओली
४ वैशाख २०८३ ११:०२
296
Shares

केही दिन अघिमात्र चितवन मेघौलीमा रहेको एउटा जंगल सफारी रिसोर्टमा केही दिन बसेर घुमघाम गरियो। अष्ट्रेलियामा बसोबास गरिरहेका छोरी ज्वाइँले उतैबाट बुक गरिएको उक्त रिसोर्ट निकै स्तरीय र सुविधाजनक लाग्यो।

रकम भने केही महँगो जस्तो लागेपनि नेपालबाट बुक गरिएको भए केही सस्तो पर्ने रहेछ। एनआरएनलाई भनेर बिदेशी कोटामा राखेर रकम लिने गर्दा अलिक महँगो नै लाग्यो।

सरकारले एनआरएन परिचयपत्र दिइसकेर नेपाल प्रवेशको भिसासमेत निःशुल्क गर्न थालेपछि नेपालका होटल सफारी ब्याबसायीले पनि अरु नेपाली सरह नै मूल्य लिने हो भने धेरै एनआरएन नेपालीहरु आफ्ना नेपालमा भएका आमाबुवासँग यस्ता सफारीमा रमाइलोसँग घुम्न आउने अरु थपिने थिए। जसबाट नेपालको राजश्वमा अबश्य पनि बृद्धि हुनेनै छ।

अझ यो सरकारले एकपटकको नेपाली सधैंको नेपाली भनेर सोही अनुसार संविधानमा कार्यन्वयन गर्ने भएकोले एनआरएनलाई बिदेशी सरह नमानियोस्। शायद अन्यत्र होटल रिसोर्टमा के कस्तो व्यवस्था छ थाहा भएन। तर मेघौलीको एउटा रिसोर्टमा एनआरएनलाई पनि बिदेशीको समूहमा राखेर होटलको भाडा लिने गरेको पाइयो। उक्त सफारीमा नेपालका नेता मन्त्री पनि आउने गर्ने रहेछन्।

रिसोर्टमा बस्ने साना साना घरहरु जंगल वातावरणमा बनाइएका सुविधा सम्पन्न छन्। प्रशस्तै उपयोगी बोट बिरुवा लगाएर वातावरण अत्यन्त मनमोहक बनाइएका छन्। त्यहाँ हिँडेर जाने ट्रेल बनाइए पनि इभी टुकटुके साना खुला किसिमका टेम्पोजस्ता गाडी पनि ग्राहकको सेवामा जतिखेर पनि तयार पारेर राखेको पाइयो। जंगलमा घुम्दा पनि खुला गाडीबाट घुमाइने हुँदा जंगली जनाबार गैडालगायत हरिण मृग तथा विभिन्न जात जातका चराचुरुङ्गी पनि प्रशस्तै देख्न पाइन्छ।

त्यस्तै गरेर राप्ती नदीमा गराइने डुङ्गाको यात्रा पनि रमाइलो हुँदो रहेछ, जहाँ गोही पनि देख्न सकिँदो रहेछ। साँझपख देखाइने स्थानीय आदिबासी थारु कुमालकाे साँस्कृतिक कार्यक्रम पनि निकै लोभलाग्दा नै छन्। आतिथ्य सत्कार योग्य र फुर्तिला स्टाफबाट तथा उनीहरुको   स्तरीय सेवाबाट जो कोही पनि प्रभावित हुन सक्छन्।

नेपालको पर्यटन क्षेत्रमा यस्ता जंगल सफारी होटलको कारण धेरै बिदेशी आकर्षण बढिरहेको पाइन्छ। चितवन जस्तो नेपालको सचेत नागरिक भएको क्षेत्रमा त्यहाँका जनतालाई रोजिरोटीमा पनि धेरै मद्दत पुगेको पाइयो। होटल बाहिर मेघौली क्षेत्रमा कृषकले आफैं बोरिङ गरेर लगाइएका धान मकै तरकारी पनि पर्याप्त देख्न पाइयो।

यसमा सरकारबाट सिचाईं मात्र राम्रोसँग गराइदिने हो भने अधिकांश युवाले आज आफ्नै गाउँमा बसेर कृषि उत्पादन गरेर जिविका गर्न सक्छन्। त्यसका लागि राप्ती र नारायणी नदीको पानीको सदुपयोग गर्न सकिन्छ।

अहिले बालेन सरकारले तीन लाख हेक्टरमा पाँच बर्ष भित्रमा सिचाईं सुबिधा बिस्तार गर्ने भनिएको छ। तर त्यो भन्दा पनि खानेपानी र  सिचाईंमा अधिराज्यभर अभियान चलाउनु पर्छ। प्रत्येक खेतबारीमा सिचाईं पुर्‍याउन स्थानीय निकायलाई पनि सकृय बनाउनु पर्छ। जसले आफ्नो क्षेत्रमा रहेका नदी, मुल तथा पानीको श्रोतको सही सदुपयोग गरि पिउने पानी र सिचाईंमा प्रबन्ध गर्न सकोस्। यही अनुरुप सरकारले बजेटको बितरण गरोस्।

सरकारले गर्नुपर्ने अर्को प्रमुख बिषय भनेको कृषि मल कारखाना निर्माण शिघ्र सुरु गर्नुपर्छ। बिदेशबाट आयातीत मलमा ठूलो कमिसनको खेल बर्षौदेखि चलिरहेको छ। त्यही भएर सरकारले कृषि मल कारखाना निर्माणको कुरा आउनासाथ कर्मचारीले एउटा न एउटा भाँजो हालेर अहिलेसम्म सरकारी स्तरमा मल कारखाना निर्माण हुन सकेको छैन। जुन किसानको लागि अत्यन्त महत्वपूर्ण छ।

बालेन सरकारले भ्रष्टचार बिरुद्धको कारवाहीको लागि आयोग गठन गर्ने कार्य सुरु गरिसकिएको छ। अन्य गर्नुपर्ने नीतिगत कुराहरु धेरै छन् जुन बिस्तारै अघि बढ्दै जालान त्यसमध्य सेतो हात्ती जस्तो प्रदेश संसद हटाउने र राष्ट्रियसभा हटाएमात्र पनि सरकारको दोहोरो कार्य रोकिएर धेरै खर्च घट्ने छ। समानुपातिकलाई र बिज्ञ मिलाएर राष्ट्रिय सभामा लगे हुन्छ। त्यस्तै गरेर स्थानीय निकायलाई स्वतन्त्र राखिनु पर्छ।

बिकासको पूर्वाधार भनेको एयरपोर्ट पनि हो। काठमाडौंको एयरपोर्ट बढाउने ठाउँ सबै समाप्त भइसकेको छ। अब बढाउँदै पशुपतिनाथको धर्मस्थली र बनकाली जंगल पनि समाप्त हुन बेर छैन। अहिले काठमाडौंमा जहाजहरु घण्टौ होल्डिङमा बस्नु परेको छ।

त्यसकारण यसबाट बच्न बर्षौदेखि अघि बढ्न नसकेको निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण शिघ्र अघि बढाइयोस्। यसबाट नेपाल हवाइ हव बन्न सक्छ। यहाँ सिमाना नजिकका भारतीय पनि धेरै यात्रु आउने छन्। निजगढबाट पूर्व जापानदेखि पश्चिम खाडीमुलुक लगायत जर्मन, लण्डन, पेरिससम्मको उढान चलाउन सकिन्छ।

निजगढमा काठमाडौं जस्तो जाडोमा हुस्सु र बर्षामा कुहिरोको कारणले हवाइ उढानलाई बाधा पर्ने छैन। निजगढ एयरपोर्टमा वातावरणको नाममा बिदेशी दवावमा निर्माण बाधा परेको बुझिन्छ। त्यहाँ मेघासिटी बनाउनु पर्दैन। त्यही भएर धेरै जंगल मासिने कुरा भएको हो।

नजिकै वीरगञ्ज हेटौंडा शहर छन्। फास्ट ट्राक बनाएको पनि निजगढ एयरपोर्टलाई मध्यनजर राखेर सुरु गरिएको हो। अब केही वर्ष भित्रमा फास्टट्राक निर्माण सम्पन्न भइसक्ता  निजगढ एयरपोर्ट पनि यही कार्यकालमा सम्पन्न हुनेगरी बालेन सरकारले हिम्मतसाथ कार्य गरे यो देशको बिकासमा गेम चेन्जर बन्न सक्छ।

अहिले सरकारले सुरु गरेका कार्यले धेरै जनताको मन खिचेको छ। यसलाई पुरातवरमा कार्यन्वयन गर्न सके देशले धेरै लाभ लिनसक्छ। तर यस्मा देशको दीर्घकालीन हितमा दूरदर्शीरुपमा उपयोगी कार्यहरु धेरै छुटेका छन् यसतर्फ पनि बालेन सरकारको ध्यान क्रमस जावस्।

खासगरी सनातनदेखिको वैदिक धर्म कायम गरी धर्मनिरपेक्षता हटाएर राजसंस्थासहितको हिन्दुधर्म पुनः स्थापना गर्न बालेन सरकार सफल हुन सके ९० प्रतिशत हिन्दु बौद्धधर्मालम्बीलगायत किँराती तथा मुस्लिम धर्मालम्बीपनि खुसी हुनेछन्।

यसपछि संसारभर छरिएका हिन्दु बौद्ध धर्मालम्बीहरु नेपालका मठ मन्दिर गुम्बाको दर्शन गर्न लाखौं धार्मिक तिर्थयात्रीहरु नेपाल आउनेछन्। यसबाट नेपालमा धार्मिक पर्यटक बढेर राजश्व बढ्ने मात्र होइन लाखौं युवाले रोजगारी पनि पाउनेछन्।

राजसंस्था कायम गरिएमा यसबाट राष्ट्रिय एकता र सार्बभौमिकतामा बलियो आधार बन्नसक्नेछ। राजासँग सेनाको शक्ति पनि जोडिन्छ। किनकि दलका नेता भन्दा राजसंस्थाप्रति सेनाको लामो र सौहाद्रपूर्ण इतिहास भएकोले सेनाको सही सदुपयोग राजाले मात्र गर्न सक्छन् भन्नेकुरा नेताले बुझ्न सकेनन्।

सरकारले गरेका हरेक कार्य देश हितमा हुनेसाथ सबै नेपालीको सहयोग र समर्थन प्राप्त हुनेछ। यदि बिदेशीको हितमा मात्र कार्य हुन थालेमा नेपाल पनि बिदेशीको सैनिक शिविर बन्न सक्छ।

अहिलेको युवाहरुको सरकारले यसतर्फ होसियार बन्दै छिमेकीसँग राम्रो कुटनीतिक सम्बन्ध कायम गरी नेपालको हितमा आबश्यक उपयोगी सहयोग लिन सक्नुपर्छ। यदि सहयोगको नाममा शिर्फ नदी नाला ओगटेर मात्र राखेको पाइएमा त्यस्ता आयोजना रद्द गरौं। यति हिम्मत गरेमा सबैले बालेन सरकारको जयजय मनाउने छन्।

त्यस्तै गरेर नेपालको सुरक्षाको चुनौती भनेको  खुला सिमाना  हो। जहाँबाट तस्करी अपराधी तथा बिदेशी सुरक्षा निकायका ब्यक्तिको समेत घुसपैठ हुने भएकोले यसबाट अरबौंको राजश्व तथा सुरक्षामा बाधा परिरहेको छ।

त्यसैले भारतासँग राम्रोसँग गृहकार्य गरी खुला सिमाना नियन्त्रण गरी नाकाबाट मात्र ओहोरदोहोर गर्ने कार्य सुरु गरियोस्। यसबाट दुबै देश लाभान्वित हुनेछन्।  साथै यस कार्यसँग जोडिएको इपिजीको प्रस्ताव दुबै देशका प्रधानमन्त्रीले छलफल गरि कार्यन्वयन गरौं।

नेपाली जनताले बिगतका सरकारसँग वाक्क दिक्क भएर झण्डै दुई तिहाइको मतसहित जिताएको स्वतन्त्र दलको यो महत्वपूर्ण बिजयको सही सदुपयोग गरी देशको मुहार फेर्नसके स्वतन्त्र दलले ५ बर्ष मात्र होइन वारम्बार सरकार चलाउन पाउने छ। अन्यथा नेपाली जनतामा आउने निरासाले देश गहिरो भूमरीमा पर्नसक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *