राप्रपाको विवाद उत्कर्षमा : अध्यक्ष लिङ्देनलाई राजीनामाको दबाब र महाधिवेशनको माग

डिसी नेपाल
६ वैशाख २०८३ १२:४४
52
Shares

काठमाडौं। निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।

पार्टीको कार्यशैली र नेतृत्वको असफलतालाई लिएर शीर्ष तहबाटै चर्को आलोचना हुन थालेपछि अध्यक्ष राजेन्द्र लिङ्देनलाई अध्यक्ष पदबाट हट्न वा तत्काल महाधिवेशनको मिति घोषणा गर्न चौतर्फी दबाब सिर्जना भएको छ।

पछिल्लो समय पार्टीका महामन्त्री धवलशमशेर राणासहितका असन्तुष्ट पक्षले काठमाडौंमा छुट्टै भेला आयोजना गर्दै नेतृत्वविरुद्ध मोर्चाबन्दी गरेका छन्।

उनीहरूले निर्वाचनमा पार्टीले व्यहोरेको क्षति र सांगठनिक सुस्तताका लागि अध्यक्ष लिङ्देनको एकलौटी निर्णय प्रक्रिया जिम्मेवार रहेको आरोप लगाएका छन्। पार्टीको जीवन रक्षाका लागि अब ‘सच्चिने कि सकिने’ भन्ने गम्भीर मोडमा पुगिसकेको निष्कर्ष निकाल्दै असन्तुष्ट खेमाले एक साताभित्रै केन्द्रीय महाधिवेशनको मिति तोक्नुपर्ने भन्दै दबाव बढाएका छन्।

अध्यक्ष लिङ्देन पक्षले भने यो दबाबलाई रमितेको संज्ञा दिँदै असन्तुष्टहरूको मागलाई अस्वीकार गरेको छ। लिङ्देन निकटस्थ नेताहरूले भेलाको कुनै वैधानिकता नभएको जिकिर गर्दै आएका छन्।

पार्टीका हरेक निर्णयहरू केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै हुने र सडक वा भेलाबाट गरिएका मागहरूलाई औपचारिक रूपमा स्वीकार गर्न नसकिने उनीहरूको अडान छ।

चुनावको समीक्षाका लागि लिङ्देनले प्रदेश र केन्द्र तहमा छुट्टै गृहकार्य गरिरहेको बताउँदै उनले महाधिवेशन टार्न खोजेको आरोप निराधार भएको दाबी पार्टी नेतृत्वले गरेको छ।

पार्टीभित्र देखिएको यो विवादले राप्रपाको राजनीतिक भविष्यमाथि नै प्रश्न उठाएको छ। असन्तुष्ट पक्षले नेतृत्व परिवर्तन नभए पार्टी विभाजनसम्मको अवस्था आउन सक्ने चेतावनी दिइरहेको छ भने संस्थापन पक्षले एकताको रटान छोडेको छैन। वरिष्ठ नेताहरू र कार्यकर्तामाझ देखिएको यो दुरी र अविश्वासको वातावरणले राप्रपालाई गम्भीर संकटतर्फ धकेलेको विश्लेषण भइरहेको छ।

अहिलेको परिस्थितिमा अध्यक्ष लिङ्देनका लागि पद जोगाउन र पार्टीका सबै पक्षलाई एक ढिक्का बनाइराख्न चुनौतीपूर्ण देखिएको छ। आगामी दिनमा बोलाइने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यो विषयले प्रवेश पाउने निश्चित छ।

यदि नेतृत्वले असन्तुष्ट पक्षको मागबमोजिम महाधिवेशनको मिति नतोके वा उचित निकास नदिए, राप्रपामा थप तरंग आउने र पार्टी संगठनमा गम्भीर क्षति पुग्ने जोखिम बढ्दो छ।

यसैबीच  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न चेतावनी दिएका छन्।

लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न चेतावनी दिँदै पार्टीको आधार त्याग, संघर्ष र युवावस्थाको मेहनतबाट बनेको बताएका छन्।

उनले लेखेका छन्,‘ राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत पसिना र बैंस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन। न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ। आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *