राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

डिसी नेपाल
६ वैशाख २०८३ १९:०४
56
Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ। टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन त्यहाँ पुगेका उनीहरुबीच भेट भएको हो।

भेटमा उनीहरुबीच नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

अष्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए।

सो क्रममा अष्ट्रेलियाका सभामुख मिल्टनले अष्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्द्रपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत बन्ने बताएका थिए।

भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका तर्फबाट राष्ट्रियसभाका सदस्यहरु कृष्णबहादुर रोकाया र डा अञ्जान शाक्य तथा राष्ट्रियसभा सचिव तुलबहादुर कँडेललगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *