स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य : सभामुख यादव
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका सभामुख रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताएका छन्।
जनकपुरधामस्थित श्रीराम जानकी बहुउद्देश्यीय रङ्गशालामा आयोजित अन्तरविद्यालयस्तरीय ‘नेशनल क्रिकेट च्यान्पियनशिप’ प्रतियोगिताको आज उद्घाटन गर्दै उनले ‘स्वस्थ मधेस र समृद्ध मधेस’ को लक्ष्य हासिल गर्न खेल संस्कृतिको विकास आवश्यक रहेको बताए।
सभामुख यादवले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्दै खेलले अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने भएकाले विद्यार्थी जीवनदेखि नै खेल गतिविधिमा सक्रिय रहन आग्रह गरे।
जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष आकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन-प्याब्सन) का अध्यक्ष आशिष झा, कोषाध्यक्ष सचिन सिंहलगायतले प्रतियोगिताको सफलताको कामना गर्दै खेलकुदमार्फत विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सङ्घका सचिव सरोज मिश्रका अनुसार प्रतियोगितामा जनकपुरधाम तथा आसपासका विभिन्न विद्यालयका क्रिकेट टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ।







डिसी नेपाल







Facebook Comment