अमेरिका-इरान तनाव: ट्रम्पको सर्त-सम्झौता या दबाब

डिसी नेपाल
८ वैशाख २०८३ ६:४५

वासिङ्टन। मध्यपूर्वमा जारी अमेरिका र इरानबीचको तनावले नयाँ मोड लिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वका सन्दर्भमा कडा अडान सार्वजनिक गर्दै ‘ठोस सम्झौता नभएसम्म आफ्नो प्रशासन पछि नहट्ने’ चेतावनी दिएका छन्।

पछिल्लो समय सार्वजनिक भएका विभिन्न वक्तव्य र सामाजिक सञ्जालमा ट्रम्पले इरानमाथिको सैन्य तथा कूटनीतिक दबाबलाई निरन्तरता दिने संकेत गरेका हुन्।

ह्वाइट हाउसबाट जारी सन्देश र विभिन्न सञ्चार माध्यमसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भनेका छन्, “हामी दबाबमा छैनौं। यदि इरानले हाम्रा सर्तहरू स्वीकार गर्दैन र सम्झौताको बाटो समात्दैन भने, अमेरिका आफ्नो सैन्य अभियानलाई अझ तीव्र बनाउन पछि पर्ने छैन।”

विगत केही सातायता अमेरिका र इरानबीचको सम्बन्ध निकै नाजुक बनेको छ। दुई साताको युद्धविरामको समयसीमा समाप्त हुन लाग्दा दुवै पक्षबीच थप सैन्य संघर्षको त्रास बढेको छ।

वासिङ्टनले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न र आफ्नो सैन्य उपस्थिति घटाउन दबाब दिइरहेको छ। अर्कोतर्फ, तेहरानले अमेरिकी अडानलाई ‘गैरकानुनी’ र ‘धम्कीपूर्ण’ भन्दै त्यसलाई अस्वीकार गर्दै आएको छ।

विशेष गरी हर्मुज जलमार्गमाथिको नियन्त्रण र त्यहाँबाट हुने तेलको आपूर्तिलाई लिएर दुवै देशबीच भनाभन र सैन्य गतिविधि बढेका छन्। ट्रम्पले पटकपटक सम्झौताको विकल्प खुला राखेको दाबी गरे पनि, सैन्य कारबाहीको चेतावनी दिन छाडेका छैनन्।

उनले आफ्ना कूटनीतिक टोलीलाई इस्लामावादमा वार्ताका लागि तयार रहन निर्देशन दिए पनि, इरानले अमेरिकी सर्तहरू मान्न अझै इन्कार गरिरहेको छ।

अमेरिकी राष्ट्रपतिको यस पछिल्लो भनाइले विश्व बजारमा पुनः तरंग ल्याएको छ। तेलको मूल्यमा अस्थिरता देखिएको छ भने शेयर बजारमा समेत नकारात्मक प्रभाव परेको छ।

अन्तर्राष्ट्रिय समुदायले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गर्दै आएका छन्। संयुक्त राष्ट्र संघ र केही मध्यस्थकर्ता राष्ट्रहरूले जारी द्वन्द्वले विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा पार्न सक्ने असरबारे गहिरो चिन्ता व्यक्त गरेका छन्।

यद्यपि, केही राजनीतिक विश्लेषकहरू ट्रम्पको यस भनाइलाई वार्ताको टेबलमा आफ्नो पकड बलियो बनाउने रणनीतिका रूपमा समेत हेरिरहेका छन्। इरानले भने ट्रम्पको धम्कीले आफ्नो निर्णय नबदलिने र मुलुकको सुरक्षाका लागि कुनै पनि कदम चाल्न तयार रहेको दोहोर्‍याएको छ।

अहिलेको परिस्थितिमा युद्धविरामको समयसीमा सकिनै लाग्दा, कूटनीतिक पहल सफल हुन्छ कि सैन्य कारबाहीको अर्को चरण सुरु हुन्छ, त्यो भने हेर्न बाँकी छ। दुवै मुलुकका सैनिक गतिविधिहरूले खाडी क्षेत्रमा युद्धको बादल कायमै रहेको संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *