मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
धनुषा । जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ। प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ।
जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ भने वीरगञ्जमा ३९ डिग्री सेल्सियस पुगेर जनजीवन अत्यधिक प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजिव झाले जानकारी दिए।
उनका अनुसार चर्को गर्मीसँगै तातो हावा चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
यस्तै, गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र साना सडक व्यवसायीहरूमा परेको छ। गर्मी अत्यधिक बढेर तातो हावा चलेसँगै दिनभर काम गर्न असहज भएको र ग्राहकहरूको चहलपहल पनि कम हुँदा उनीहरूको आम्दानीमा पनि असर परेको छ। सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरू दिउँसोको चर्को घाममा बस्न नसक्ने अवस्थामा छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा (लु) चल्ने क्रम पनि जारी रहनेछ।
स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने, हल्का र खुकुलो कपडा लगाउने जस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई गर्मीको प्रत्यक्ष प्रभावबाट बचाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ।







डिसी नेपाल







Facebook Comment