उत्तर कोरियाली परिवारको साहसिक पलायन: १० वर्षको योजना र समुद्री यात्राको कथा
काठमाडौं । उत्तर कोरियाका दुई दाजुभाइले आफ्नो परिवारसहित देश छोड्ने योजना बनाउन १० वर्ष बिताए। जब नौ जनाको टोली त्यस एक्लो राष्ट्रबाट भागिरहेको थियो, कसैले पनि आफूहरू खुला हावामा सास फेर्न पाउनेछौँ भन्ने पूर्ण विश्वास गरेका थिएनन्। अगाडि केवल अनन्त अँध्यारो मात्र देखिन्थ्यो।
उत्तर कोरियाबाट भाग्ने यो साहसिक योजना उनीहरूका पिताले बनाएका थिए। भाग्ने क्रममा दुवै दाजुभाइले आफ्ना दिवंगत पिताको अस्तु (अस्थि) समेत साथमै लिएर अँध्यारोमा एउटा डुङ्गातर्फ घस्रिँदै अघि बढेका थिए। त्यस रात तटमा कडा सुरक्षा पहरा थियो, तैपनि परिवारले हिम्मत जुटाएर देश बाहिर निस्कने साहस गर्यो; किनभने उनीहरूका लागि यो अन्तिम मौका थियो।
सन् २०२३ मे ६ मा सुरु भएको तीन दिने वसन्तकालीन आँधीले पहेँलो सागर (यलो सी) लाई आफ्नो चपेटामा लिएको थियो। यही प्रतिकूल मौसम किम इल-ह्योक र किम यी-ह्योकका लागि वरदान सावित भयो। आँधीका कारण समुद्री सुरक्षाकर्मीको नजरबाट बच्न सजिलो भयो। दुवै दाजुभाइले महिला र बालबालिकासहित परिवारका सात सदस्यलाई भेला पारे।
पलायन हुनेहरूमा ४ र ६ वर्षका दुई बालबालिका थिए, जसलाई बोराभित्र लुकाएर लगिएको थियो। किम इल-ह्योककी पाँच महिनाकी गर्भवती पत्नी सुरुमा यो कठिन यात्राका लागि अनिच्छुक थिइन्। “मैले उनलाई सम्झाउनुपर्यो कि सन्तानको उज्ज्वल भविष्यका लागि हामी दक्षिण कोरिया जानैपर्छ,” किमले सिएनएनलाई बताए। अन्ततः उनकी पत्नी सहमत भइन्।
यो पलायनको बीउ १० वर्षअघि नै उनीहरूका बुबाले रोपेका थिए। समुद्री मार्गबाट स्वतन्त्रता पाउन सकिने उनीहरूको बुबाको विश्वास थियो। यद्यपि, उनीहरूको परिवारको माछा मार्ने कामसँग कुनै सम्बन्ध थिएन।
बुबाको निर्देशनअनुसार, कान्छा छोरा (किम यी-ह्योक) ले तटीय क्षेत्रमा काम खोजे र करिब ५ वर्षमा आफ्नै डुङ्गा जोड्न सफल भए। समयसँगै उनले सत्ताधारी दलका वफादार र सुरक्षा अधिकारीहरूको विश्वास जिते र उनीहरूलाई घुस दिएर सुमधुर सम्बन्ध बनाए। यही पहुँचका कारण उनीहरूले समुद्री गस्ती टोलीका कमजोरीहरू पत्ता लगाउन सफल भए।
पलायनका क्रममा उनीहरूले उत्तरी सीमा रेखा (एनएलएल) पार गर्नुपर्ने थियो, जुन उत्तर र दक्षिण कोरियाबीचको अत्यन्तै तनावपूर्ण समुद्री सीमा हो। “हामीले हरेक कुराको हिसाब गरेका थियौँ। खराब मौसम र रातको समयमा गस्ती कम हुने कुरामा हामी ढुक्क थियौँ,” किमले भने।
सुरक्षाकर्मीलाई झुक्याउन उनीहरूले वर्षौंसम्म एउटै कथा दोहोर्याए— माछा मार्न सीमा नजिक जाने र फेरि फर्कने। यो एक सावधानीपूर्वक गरिएको अभिनय थियो जसले उनीहरूको वास्तविक योजनालाई लुकाएर राख्यो।
उत्तर कोरियामा सम्पन्न मानिने यस परिवारले लुकिछिपी दक्षिण कोरियाली टिभी च्यानलहरू हेर्ने गर्थे। त्यहाँको झिलिमिली र स्वतन्त्रताले उनीहरूलाई सधैं आकर्षित गर्थ्यो। पलायनको करिब दुई घण्टापछि उनीहरू दक्षिण कोरियाली जलक्षेत्रमा प्रवेश गरे। दक्षिण कोरियाली नौसेनाले उनीहरूलाई उद्धार गर्दा किमले आफ्नो काँधबाट ठूलो बोझ हटेको महसुस गरे।
दक्षिण कोरिया पुगेको चार महिनापछि किमको छोरी येरीको जन्म भयो। तर, स्वतन्त्रताको यो खुसी लामो समय टिक्न सकेन। एउटा विडम्बनापूर्ण मोडमा, येरीको पहिलो जन्मदिन मनाएको दुई महिनापछि किमका भाइ यी-ह्योकको स्कुबा डाइभिङ दुर्घटनामा मृत्यु भयो। १० वर्षसम्म योजना बनाएर परिवारलाई स्वतन्त्रता दिलाउने यी-ह्योकले स्वतन्त्र संसारमा केवल १९ महिना मात्र बिताउन पाए।







डिसी नेपाल







Facebook Comment