अचानक ढलेकी अभिनेत्रीको ३० वर्षको उमेरमै निधन
काठमाडौं (एजेन्सी) । हरियाणवी मनोरञ्जन उद्योगबाट एउटा दुखद खबर बाहिरिएको छ। चर्चित कन्टेन्ट क्रिएटर तथा अभिनेत्री दिव्यांका सिरोहीको ३० वर्षको अल्पायुमै निधन भएको छ। मंगलबार उनले अन्तिम सास लिएकी हुन्।
दिव्यांकाकी दिदी आरतीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उक्त दुखद खबर सार्वजनिक गरेकी छिन्। उनले लेखेकी छिन्, “अत्यन्तै दुखका साथ जानकारी गराउन चाहन्छु कि मेरी बहिनी दिव्यांकाको अप्रिल २१ मा निधन भएको छ। भगवानले उनको आत्मालाई शान्ति दिउन्।”
प्राप्त जानकारी अनुसार, गाजियाबादको राजनगर एक्सटेन्सनस्थित आफ्नै निवासमा दिव्यांकाको स्वास्थ्य अचानक बिग्रिएको थियो। उनी रिंगटा लागेर भुइँमा ढलेकी थिइन्। परिवारका अनुसार मंगलबार उनी सामान्य अवस्थामा थिइन् र उनले भाइका लागि खाना समेत बनाएकी थिइन्। यद्यपि, उनले शरीर अलि बिसन्चो भएको बताएकी थिइन्।
उनका भाइ केही कामका लागि बाहिर निस्किएका बेला घरको गेट बन्द गर्न सन्देश पठाउँदा दिव्यांकाले ‘ओके’ भनेर जवाफ समेत दिएकी थिइन्। तर, परिवारका सदस्यहरू घर फर्कँदा उनी मृत अवस्थामा फेला परिन्। उनको शरीर कडा भइसकेको र हल्का सुन्निएको देखिएको आफन्तले बताएका छन्। उनको मृत्युको कारण हृदयाघात (हार्ट अट्याक) हुनसक्ने प्रारम्भिक आशंका गरिए पनि वास्तविक कारण भने अझै स्पष्ट भइसकेको छैन।
सन् १९९६ नोभेम्बर १९ मा बुलन्दशहरमा जन्मिएकी दिव्यांका आफ्ना भाइ र दिदीसँग गाजियाबादमा बस्दै आएकी थिइन्। उनले मेरठको चौधरी चरण सिंह विश्वविद्यालयबाट बीसीए र सिक्किमबाट एमबीएको डिग्री हासिल गरेकी थिइन्।
बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुचि राख्ने दिव्यांका ‘टिकटक’ भिडियोमार्फत चर्चामा आएकी थिइन्। सुनन्दा शर्माको गीत ‘मेरी मम्मी नु पसन्द नी तू’ मा उनले दिएको अभिनयको भिडियो निकै भाइरल भएको थियो, जसलाई २० मिलियनभन्दा बढी पटक हेरिएको थियो। त्यसपछि उनले थुप्रै हरियाणवी गीतहरूमा अभिनय गरिन्। इन्स्टाग्राममा उनका १३ लाख (१.३ मिलियन) फलोअर्स रहेका छन्।
उनको निधनपछि ९ जुन २०२३ मा उनले गरेको एउटा पुराना पोस्ट अहिले भाइरल भइरहेको छ। उक्त पोस्टमा उनले भावुक हुँदै लेखेकी थिइन्, “भगवान शिव, मलाई आफूसँगै लैजानुहोस्।”
अविवाहित रहेकी दिव्यांकाको बुधबार बिहान उनको गृहजिल्लामा अन्तिम संस्कार गरिएको छ। हरियाणवी कलाकारहरू र उनका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment