सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सुर्खेतमा बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा विश्वका २१ देशबाट पाँच सय भन्दा बढीको सहभागिता हुने र ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तरविषयगत संवाद, राउण्डटेबल छलफल सञ्चालन हुनेछन् ।

सम्मेलनमा विभिन्न नौ विश्वविद्यालयका उपकुलपतिहरुको राउण्ड टेवल छलफल आयोजना हुने छ। सम्मेलनले कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणसँग सम्बन्धित समसामयिक विषयमा गहिरो छलफल गरिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. धुव्रकुमार गौतमले जानकारी दिए । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र सहभागिहरु आउनेक्रम जारी रहेको उनले बताए ।

सम्मेलन सात प्रमुख विषयगत क्षेत्र कृषि तथा वातावरण, शिक्षा तथा मानव विकास, कानून र सुशासन, व्यवस्थापन तथा उद्यमशीलता, स्वास्थ्य, विज्ञान तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीमा केन्द्रित हुने उनले बताए । सम्मेलन बैशाख १३ गतेसम्म हुने सम्मेलन व्यवस्थापन समितिका संयोजक यदुप्रसाद ज्ञवालीले जानकारी दिए ।

योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव विष्णुकुमार खड्काले सम्मेलनलाई उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य र नीति निर्माणमा टेवा पु¥याउने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए ।