यातायात महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन पोखरामा हुने
काठमाडौं। देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी सातौँ राष्ट्रिय महाधिवेशन यही वैशाख २७ गतेदेखि २९ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा हुन लागेको जानकारी दिए।
महासङ्घले महाधिवेशन तयारीका लागि जिल्ला, प्रदेश तथा सदस्य संस्थाहरूलाई निर्देशन दिएको छ। जिल्ला अधिवेशन बाँकी रहेका जिल्लाहरूले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भनिएको महासचिव गौतमले बताउनुभयो। तोकिएको समयमा अधिवेशन नगर्ने जिल्लालाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले जनाएको छ।
महासङ्घले वैशाख १५ गतेभित्र प्रदेश संयोजकले प्रतिनिधिहरूको नामावली, फोटो तथा आवश्यक शुल्कसहितको विवरण अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। लेवी तथा अन्य दायित्व बाँकी रहेका सदस्य संस्थालाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले जनाएको छ।
यसैबीच, महासङ्घले महाधिवेशन तथा निर्वाचन प्रक्रिया विधानअनुसार प्रविधिमैत्री (विद्युतीय मतदान) प्रणालीमार्फत एकै दिन एउटै स्थानबाट प्रदेशअनुसार सञ्चालन गरिने जनाएको छ।







डिसी नेपाल







Facebook Comment