इमर्जेन्सी कक्षमा होस फर्किदा : पीडा, घाउ र प्रश्नहरू
बैशाख १० गते, कार्यालयमा नियमित काम गरिरहेकै बेला म एक्कासी बेहोस् भएँ। के कारणले यस्तो भयो, त्यो क्षण मलाई केही सम्झना छैन। धेरै समयसम्म होस नआएपछि अफिसका साथीहरूले मलाई नजिकै रहेको बानेश्वरस्थित सिभिल हस्पिटलमा पुर्याएछन्।
अस्पतालको इमर्जेन्सी कक्षमा मेरो उपचार भइरहेको रहेछ। लामो समयसम्म पनि होस नफर्किएपछि चिकित्सक तथा नर्सहरूले मलाई होसमा ल्याउन विभिन्न प्रयास गरिरहेका थिए। पछि थाहा भयो, मेरो छातीमा बारम्बार हातले थिचेर ‘सीपीआर’ जस्तो प्रक्रिया गरिएको रहेछ। त्यसबेला मेरो शरीरले कुनै प्रतिक्रिया नदिए पनि कानले भने वरिपरिको आवाज सुन्ने रहेछ।
त्यस क्रममा ब्लड टेस्टका लागि रगत निकाल्ने तयारी भइरहेको थियो। कमजोरी धेरै भएकाले सलाइन चढाउने निर्णय भयो। एकजना नर्स मेरो हातमा नसा खोज्दै सुई लगाउन थाल्नुभयो। पछि थाहा भयो, उहाँले मेरा साथीहरूलाई बाहिर पठाइसक्नुभएको रहेछ। म अर्धचेत अवस्थामा थिएँ, शरीर चलाउन सक्दिनथेँ, तर भइरहेको सबै कुरा भित्रभित्रै महसुस गरिरहेकी थिएँ।
धेरै बेरसम्म नसा भेटिएन। थोरै मात्र सुई नसामा छिराएपछि एक्कासी अर्को नर्सलाई बोलाउँदै ‘दिदी’ भनेर सहायता मागियो। अर्को जना नर्स आएर भन्नुभयो,‘तिमीलाई अस्ति पनि सिकाएको होइन ? अलि भित्रसम्म छिराऊ सुईलाई।’ त्यो वाक्य सुन्दा म झस्किएँ। त्यो क्षण मलाई लाग्यो,मेरो हात उपचारको माध्यमभन्दा बढी अभ्यासको ‘डमी’ बनिरहेको थियो।
सायद धेरै दुखेको भएर होला, मेरो शरीरले बिस्तारै प्रतिक्रिया दिन थाल्यो। हातमा पीडा तीव्र रूपमा महसुस भइरहेको थियो। केहीबेरपछि बल्ल मेरो होस पूर्ण रूपमा फर्कियो। त्यसपछि मलाई ‘रेड रुम’बाट ‘ग्रीन रुम’मा सारियो।
तर, मेरो सबैभन्दा ठूलो पीडा छातीमा थियो। सलाइन चडाएकाले पिसाबले एकदमै च्यापिरहेको थियो। म साथीहरुको सहायता लिएर बाथरुम गएँ। त्यहाँ ऐनामा हेर्दा घाँटीभन्दा अलि तल एउटा घाउ देखेँ। पूरै नङ गाडिएजस्तो चोट। म आत्तिएँ। साथीहरूलाई सोध्दा उनीहरूले भने, ‘होसमा ल्याउन नर्सहरूले धेरै थिचिरहेका थिए।’
त्यो सुनेपछि म बाहिर शान्त देखि पनि भित्रभित्रै रोइरहेकी थिएँ। घाउ सानो देखिन्थ्यो, तर पोलाइ असह्य थियो। त्यही घाउकै कारण त्यो दिन ज्वरोसमेत आयो। केही घण्टापछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएँ, तर तीन दिन बितिसक्दा पनि घाउको पीडा कम भएको छैन।
जब–जब म त्यो घाउ हेर्छु, एउटा प्रश्न बारम्बार मनमा उठ्छ-के उपचारको नाममा बिरामीलाई यसरी चोट पुर्याउन मिल्छ ? यदि उपचार गर्ने व्यक्ति सिकाइको चरणमा थिइन् भने, के इमर्जेन्सीमा ल्याइएको बिरामीमाथि त्यसरी अभ्यास गर्न पाइन्छ ?, के हरेक विरामी स्वास्थ्यकर्मीका प्रयोगशाला हुन् ?
अस्पताल भनेको बिरामीले सबैभन्दा बढी विश्वास गर्ने ठाउँ हो। तर जब त्यही ठाउँको अनुभवले डर, पीडा र असुरक्षा मात्र छोडेर जान्छ, तब प्रश्न उठ्नु स्वाभाविक हुन्छ। मेरो यो भोगाइ केवल व्यक्तिगत पीडा मात्र होइन, स्वास्थ्य सेवामा जिम्मेवारी, संवेदनशीलता र व्यावसायिकताको गम्भीर प्रश्न पनि हो। त्यसैले राज्यले सामान्य लाग्ने यस्ता महत्वपूर्ण गतिविधिमा ध्यान दिनुपर्छ। त्यसैले अब अस्पतालहरु प्रयोगशाला वा अभ्यासस्थल नबनाइयोस्।















Facebook Comment