पुष्प राज पाण्डेयको कथासङ्ग्रह ‘किनार’ लोकार्पण एवम् अन्तर्क्रिया

डिसी नेपाल
१२ वैशाख २०८३ १९:२४

काठमाडौं । साहित्यकार पुष्प राज पाण्डेयद्वारा लिखित कथासङ्ग्रह ‘किनार’को आज नेपाल प्रज्ञा प्रतिष्ठानस्थित पारिजात सभाकक्षमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। उक्त कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो।

कृतिमाथि आफ्नो धारणा राख्दै ‘किनार’ कथासङ्ग्रहका सम्पादक, कवि तथा साहित्यकार सुभाषचन्द्र भण्डारीले ‘किनार’ नेपाली साहित्यिक बजारका लागि एक ओजिलो उपलब्धि भएको बताए। उनले पाण्डेयका कथामा सामाजिक यथार्थ र मिथकीय आञ्चलिकताको सन्तुलित सम्मिश्रण रहेको उल्लेख गरे। भण्डारीका अनुसार उत्तरआधुनिक तथा प्रयोगवादी शिल्प संयोजन र सामाजिक प्रतिबद्धताका दृष्टिले समेत ‘किनार’ नेपाली आख्यान क्षेत्रमा नवीन कृतिका रूपमा स्थापित हुनसक्ने सामर्थ्य बोकेर आएको छ।

विशेषतः सुदूरपश्चिमेली जनबोलीमा आधारित थारू र डोटेली भाषाको सम्मिश्रण एवम् स्थानीय सांस्कृतिक गहिराइको प्रस्तुतिले कथाशिल्पमा बेजोड मौलिकता थपेको भण्डारीले बताए।

समीक्षक अनुपमा रेग्मीले केही कथाहरूमा ‘कथाभित्र कथा’ संरचना देखिनु यसको आकर्षण रहेको बताइन्। उनका अनुसार कृतिमा कथाकारको परिकल्पनाशील शक्ति प्रस्ट रूपमा अभिव्यक्त भएको छ।

पत्रकार तथा समीक्षक राजेन्द्र बानियाँले पाण्डेयका कथाहरूले फरक स्वाद र दर्शन प्रस्तुत गरेको बताए। “छायाँमा बाँचेका पात्रहरू, जीवनका कच्चा टुक्राहरूलाई मिठासका साथ प्रस्तुत गरिएको छ, जसले पाठकलाई आनन्द दिन्छ ।” पुस्तक-चर्चाका क्रममा उनले भने, “कथाहरू भावकेन्द्रित र खुला प्रकृतिका छन् ।”

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. लक्ष्मण गौतमले कृतिमा भूगोल, भाषा र परिवेश जीवन्त रूपमा प्रस्तुत भएको बताए। उनले प्रत्येक शब्दभित्र रहेको शक्ति पाठकले अनुभूति गर्न सके कृतिबाट विशिष्ट आनन्द प्राप्त हुने धारणा राखे।

लेखक पुष्प राज पाण्डेयले यो आफ्नो पहिलो कृति भएकाले केही कमजोरी हुन सक्ने स्वीकार गर्दै पाठक र समीक्षकका सुझावलाई आत्मसात गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी वर्ष उपन्यास प्रकाशन गर्ने योजना रहेको जानकारी पनि दिए।

प्रकाशक पुष्पराज पौडेलले उत्कृष्ट कृतिहरू प्रकाशन गर्न शिखा बुक्स सधैँ तत्पर रहेको उल्लेख गर्दै ‘किनार’लाई अब्बल कृतिका रूपमा बजारमा ल्याइएको बताए। पुस्तकको मूल्य ५९५ रूपैयाँ रहेको छ।

कृति लोकार्पण एवम् अन्तर्क्रिया कार्यक्रम पत्रकार यज्ञराज जोशीले सञ्चालन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *