रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो
ललितपुर। ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर लगनखेल बसपार्क पुर्याइको छ।
जात्राको पहिलो दिन गाःबहाल पुर्याइएको रथलाई त्यसपछि मङ्गलबजार, सुनधारा र चाःबहाल हुँदै आइतबार लगनखेल पुर्याइएको हो।
वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा वैशाख ५ गते पूजाअर्चनासहित विराजमान गराइएपछि वैशाख ८ गते रथ तानेर जात्रा औपचारिक रूपमा सुरु गरिएको थियो।
गुथी संस्थानका प्रवक्ता जनक पोख्रेलका अनुसार रथ निर्माणदेखि जात्रा सम्पन्न नहुन्जेलसम्म गुथी संस्थानको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। साथै रथ तान्ने र अन्य व्यवस्थापन कार्यमा पनि संस्थान सक्रिय रूपमा लागेको छ।
उनका अनुसार रथ लगनखेल पुर्याएपछि महाबलि पूजा गरिने र साइत हेराएर रथको टुप्पोबाट नरिवल खसाल्ने प्रचलन छ। नरिवल खसालिएको भोलिपल्ट महिलाहरूले मात्र रथ तान्ने परम्परा छ।
त्यसपछि रथलाई इटीटोलबाट पश्चिमतर्फ कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्याइन्छ, जहाँ भोटो देखाउने कार्यक्रम गरिन्छ। राष्ट्रप्रमुखबाट भोटो देखाएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुन्छ। रासस







डिसी नेपाल







Facebook Comment