पार्टीले ठूलो राजनीतिक धक्का र असफलता व्यहोरेको उपाध्यक्ष विष्णु पौडेलको स्वीकारोक्ति
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले हालैको निर्वाचनबाट पार्टीले ठूलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गरेका छन्।
२७औं यदु स्मृति दिवस तथा २४औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टी पुनः उठ्ने दृढता व्यक्त गरे।
उपाध्यक्ष पौडेलले एमालेले आफ्नो इतिहासमा धेरै सफलता र असफलताका उतारचढावहरू पार गरेको उल्लेख गर्दै यस पटकको परिणामले पाठ सिकाएको बताए। “हामीले यस पटक ठूलो धक्का व्यहोरेका छौं, यसबाट हामीले शिक्षा लिन्छौं र सबै चुनौतीलाई चिरेर पुनः सशक्त रूपमा उठ्छौं,” उनले भने।
पौडेलले उग्र वामपन्थी सोच र व्यवहारका कारण लोकतान्त्रिक उपलब्धिहरू गुम्न सक्ने खतरा रहेको भन्दै चेतावनी दिए। शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त राजतन्त्रको अन्त्य र संविधानसभाबाट निर्मित संविधानले समाज रूपान्तरणको ठूलो अवसर दिएको चर्चा गर्दै उनले यसलाई जोगाउन सबै राजनीतिक शक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिए।
तत्कालीन सत्ता सञ्चालनका सन्दर्भमा भएका राजनीतिक घटनाहरू स्मरण गर्दै उनले गलत निर्णयले नेतृत्वलाई नै संकटमा पार्ने बताए। “मैले उग्र वामपन्थी गल्तीहरू गरेर प्राप्त अवसर नगुमाउन सल्लाह दिएको थिएँ, तर उहाँहरूले मान्नुभएन,” माओवादी नेतृत्वको विगतको सरकारलाई संकेत गर्दै उनले भने, “प्रधानसेनापति हटाउन खोज्दा उहाँहरू आफैँ सरकारको नेतृत्वबाट हट्नुपर्ने अवस्था आयो। उग्र वामपन्थी सोचको नतिजा कहिल्यै राम्रो हुँदैन।”
पौडेलले शान्तिपूर्ण र लोकतान्त्रिक मार्गबाटै समाजको रूपान्तरण सम्भव रहेको दाबी गर्दै एमाले अब नयाँ रणनीति र ऊर्जाका साथ अघि बढ्ने बताए।







डिसी नेपाल







Facebook Comment