रूसी अर्बपतिको विलासी जहाज हर्मुजबाट पार, अमेरिका-इरान दुवैले रोकेनन्
काठमाडौं । हर्मुज स्ट्रेटमा बढ्दो सैन्य तनाव इरानको अवरोध र अमेरिकी नाकाबन्दीका बीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकै नजिक मानिने अर्बपति एलेक्सी मोर्दाशोभको विलासी ‘सुपरयाट’ सफलतापूर्वक पार भएको छ।
इरानले यस जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरिरहेको र अमेरिकी सेनाले कडा निगरानी बढाइरहेको अवस्थामा ५०० मिलियन डलर (करिब ४७ अर्ब नेपाली रुपैयाँ) मूल्यको ‘नोर्ड’ नामक सो जहाजको यात्राले विश्वको ध्यान खिचेको छ।
मरीन ट्राफिक प्लेटफर्मको तथ्याङ्क अनुसार, १४२ मिटर (४६५ फिट) लामो यो विलासी जहाज शुक्रबार राति दुबईबाट प्रस्थान गरी आइतबार बिहान ओमानको राजधानी मस्कटस्थित ‘अल मौज मारिना’ पुगेको थियो। ट्रयाकरमा देखिएको मार्गले सो जहाज इरानको सहमतिमा चल्ने नियमित मार्गबाटै अघि बढेको पुष्टि गरेको छ।
अत्याधुनिक सुविधाहरूले सुसज्जित यस सुपरयाटमा दुईवटा हेलिप्याड, स्विमिङ पुल र पनडुब्बीसमेत रहेका छन्। यद्यपि, रुसी झण्डावाहक नभएको यस जहाजको स्वामित्व आधिकारिक रूपमा मोर्दाशोभको नाममा छैन। सन् २०२२ को रेकर्ड अनुसार यो जहाज उनकी श्रीमतीको स्वामित्वमा रहेको कम्पनीको नाममा दर्ता गरिएको छ, जसलाई पश्चिमी प्रतिबन्धबाट बच्ने रणनीतिको रूपमा हेरिएको छ।
इरानले हालैका महिनाहरूमा अमेरिकी र इजरायली सैन्य गतिविधिका विरुद्ध हर्मुज जलडमरूमध्यमा कडा प्रतिबन्धहरू लगाएको छ। इरानले स्पष्ट रूपमा यो मार्गबाट जाने कुनै पनि जहाजले आफ्नो अनुमति लिनुपर्ने र अवज्ञा गरेमा निशाना बनाइने चेतावनी दिँदै आएको छ। यस्तो अवस्थामा रुसी जहाजको निर्वाध यात्राले इरान र रुसबीचको बढ्दो सैन्य तथा रणनीतिक समन्वयलाई स्पष्ट पारेको छ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले यसै हप्ता सेन्ट पिटर्सबर्गमा राष्ट्रपति पुटिन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। सो अवसरमा पुटिनले अमेरिकी र इजरायली दबाबका विरुद्ध इरानी जनताको “बहादुरीपूर्ण लडाइँ” को प्रशंसा गरेका थिए । विदेशमन्त्री अराघचीले पनि रुस र इरानको सम्बन्धलाई “गहिरो र रणनीतिक साझेदारी” को संज्ञा दिएका छन् ।
रुसको सबैभन्दा ठूलो स्टिल र खानी कम्पनी ‘सेभर्सटल’ का मालिक मोर्दाशोभ करिब ३७ अर्ब डलर सम्पत्तिसहित फोब्र्सको सूचीमा सबैभन्दा धनी रुसी नागरिक हुन्। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका, बेलायत र युरोपेली संघले उनीमाथि कडा प्रतिबन्ध लगाएका थिए।
यसअघि मार्च २०२२ मा उनको ६५ मिटर लामो अर्को जहाज ‘लेडी एम’ इटालीमा जफत गरिएको थियो। तर, हङकङ र माल्दिभ्स जस्ता क्षेत्रले भने पश्चिमी दबाबका बाबजुद ‘नोर्ड’ लाई जफत गर्न अस्वीकार गरेका थिए। हाल पश्चिमी बन्दरगाहहरूमा प्रवेश निषेध गरिएपछि धेरै रुसी अर्बपतिहरूले आफ्ना जहाजहरू मध्यपूर्व र एसियाका सुरक्षित बन्दरगाहहरू तर्फ स्थानान्तरण गरिरहेका छन्।
हर्मुजमा जारी तनाव र नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ। सोमबार विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०९ डलर पुगेको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानी बन्दरगाह तर्फ जाने जहाजहरूलाई रोक्ने घोषणा गरे पनि रुसी अर्बपतिको जहाज सोही क्षेत्रबाट पार हुनुले पश्चिमी नाकाबन्दीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।
यो घटनाले विश्व राजनीतिमा अमेरिका र यसका सहयोगीहरू एकातर्फ तथा रुस र इरान अर्कोतर्फ भई धु्रवीकरण तीब्र बनिरहेको संकेत गरेको छ।







डिसी नेपाल







Facebook Comment