पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न

डिसी नेपाल
१६ वैशाख २०८३ २०:०७

पर्वत। जिल्लाको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न भएको छ।

महाशिला गाउँपालिका–५ लुङ्खुुदेखि पैयूँ गाउँपालिकाको हुवासस्थित हातेमालो चोकसम्म करिब १५ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षपछि कालोपत्र भएको हो। कालोपत्रे भएसँगै वर्षौंदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा झेल्दै आएका स्थानीयवासीलाई सुविधा पुगेको छ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत स्तरोन्नति तथा कालोपत्रे गर्ने योजनाअनुसार निर्माण सुरु भएको थियो। सो सडकका लागि कूल ३६ करोड ९६ लाख ९३ हजार ६८५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालिले लिएको थियो।

महाशिला, पैंयू विहादी गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम कुश्मासँग जोड्ने यो मुख्य सडक हो। अब सडक कालोपत्रे भएसँगै यात्रा समय छोटिएको छ भने सवारी सञ्चालन सहज बनेको स्थानीय महेन्द्र श्रेष्ठले बताए।

सडक कालोपत्र भएसँगै कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ। दक्षिणी क्षेत्रका कृषकले उत्पादन गर्ने सुन्तला, तरकारी, फलफूल, आलु तथा दुग्धजन्य वस्तु अब कम खर्च र छोटो समयमा बजारसम्म पु-याउन सक्ने महाशिला गाउँपालिकाका कृषक सरस्वती अधिकारीले बताए।

पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले हुवास–लुङ्खु सडक कालोपत्रे सम्पन्न भएसँगै दक्षिणी पर्वतको समग्र विकासले गति लिने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *