लघुकथा : वैशाख बाह्र
“कस्तो संयोग मिलेछ है!”
बाटोमा हिँडेका बटुवा चर्को घामले असिनपसिन भएकाले चौतारीमा बसेर गफ गर्दै थिए। गन्तव्य टाढा थियो, एकछिन विश्राम लिँदै शीतल हावाको आनन्दले थकाइ बिर्सेका थिए।
एउटीले सहमति दिँदै, ” हो तनि, मनमा चिसो पस्यो। त्यो कहाली लाग्दो दिन, त्यो घटना, एकैछिनमा तहसनहस, भौतिक अनि मानवीय क्षति अथाह भयो।” उसले विगत कोट्याइ
अर्कीले गहिरो भावमा भनी, “त्यहीँ त, हामी त्यो दिन समूहका दिदीबहिनी भएर मन्दिरको सत्तल निर्माणका लागि खोलामा ढुङ्गा टिप्दै थियौं। एक्कासी! भूकम्प गयो, रूखहरू हल्लिए तर कसैले मेसो पाएनन् । लौ के भयो ? भन्दै थिए ।” उसले आफ्नो अतित सम्झँदै बोली।
फेरि थपी, “म बाटोमा निस्किएँ, माथी हेरें। पोलका तारहरू एक छेउदेखि अर्को छेउसम्म मच्चिएका थिए। स्वाँको आवाज जोडले आएको थियो। अनुमान लगाएँ अनि भनेँ, लौ! भुइँचालो गएछ भन्दै बिच बाटोमा बसेँ। कराएँ, सबैजना सुरक्षित रहनु र बाटोमा निस्कनु।” उसले थाकेको स्वरमा भनी।
एउटीले उत्सुकता जनाइ र सोधी, “केही त भएन अनि बाटोमा आए त सबै, ढुङ्गा ल्यायौँ त ?” उसले मुहारमा नजर दौडाउँदै प्रश्न सोझ्याइ।
अर्कीले सकसकी मेटाउँदै, ” अह ! केही भएन, कहाँको ल्याउनु ? त्यतिखेर त सामान्य लाग्यो नि ! जब घरमा आएर समाचार सुनियो, क्षति सुन्दा अनि बल्ल डर पो लाग्यो ।” उसले सर्सती बताइ।
एउटीले विवेकशील हुँदै बोली, ” वैशाख बाह्र शनिबारको दिन इतिहास कै कालो दिन, बरू शत्रु लागोस् तर दैव नलागोस् भन्थे हो रहेछ, कसले के गर्न सक्यो र खै?” ऊ गहन सोचमा परी।
लघुकथा : अक्षय तृतीया
“धर्मिक बन्दै चलचित्र देखाएकी छ।” उषाले जिब्रो लोप्राई।
उसलाई धर्मसित जोडिएका हरेक कुरा बनावटी लाग्छ। कर्ममा विश्वास राख्छे, पुरातन मान्यताले समाजमा जरो गाडेकोमा ऊ व्यङ्य गर्छे अनि भन्छे, “कहीं नभएको जात्रा हाडी गाउँमा, के धर्मको मिथ्या प्रचारमा भुलेर हुन्छ?” उसले शंका व्यक्त गरी।
मालती भने धर्ममा आस्था राख्छे। ऊ पञ्चाङ्ग हेर्छे र सोही अनुसार काम बाडफाड गर्छे। आफ्ना विचार धर्मसङ्ग जोडी तर्क गर्न पछि पर्दिन। उसले भनी, ” आजको दिन कसरी सुरू गर्ने विचार गरेकी छौ?”
उषा फिस्स हाँस्दै मजाक बनाई। कटाक्ष हेराइले, “स्वार्थले भरिएको परिवेशमा बिना कमिसन कस्ले के काम गर्छ र? जहाँ दुई पैसा फाइदा हुन्छ, त्यहीँ गर्ने हो, धर्मले खान दिने होइन क्यार!” उसले जवाफ फर्काई।
मालतीले विश्वासका पाना पल्टाउँदै सात्विक कुरा जोडी, “आत्मिक आनन्द, शान्ति धर्मले दिन्छ। पुराण ग्रन्थमा उल्लेख भएको पुण्यको दिन, सत्य,त्रेता युगको थालनी,वेदव्यास ऋषिले यसै दिन महाभारत लेखेका थिए । आज सुरु गरेका कामको पुण्य फल मिल्छ,शुभकार्यका लागि साइत जुराउँनु पर्दैन।” उसले सौम्य भावले सम्झाउँने प्रयत्न गरी।
फेरि, शान्त लवजले उसको भावमुहार पढ्दै भनी, “भगवान बिण्णुको नर- नारायण, परशुराम र हयग्रीवको अवतार लिई पृथ्वीमा अवतरण पनि यसै तिथिमा गरेका थिए । भगवान शिव पार्वतीको विवाह भएको दिन हो। आज जौँको सातु र सर्वत खादा शीतलता प्रदान हुन्छ।” उसले सरलताले बताई।
उषाले सुन्न सकिन, विचार नमिलेकोमा केही चिड्चिडाहट महसुस गरी। उग्र भाव दर्साई। मुख बङ्ग्याउँदै बोली, “धर्मले कसैको हातमुख जोडिएको छ र? यो त समयको बर्वादी हो।”
मालती उसलाई पुलुक्क हेर्दै उदेक भावमा, “ऋषिहरूले लेखेका वेद, पुराण, ग्रन्थमा उल्लेख भएको अक्षय तृतीया यो पवित्र दिन, के गलत सिद्ध होला?” ऊ अन्तर्मनमै घोरिई।















Facebook Comment