वर्षाले बढायो काठमाडौंको चमक: वायु प्रदूषण हटेपछि हावा स्वच्छ
काठमाडौं। गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ। सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत साता वायु गुणस्तर सूचकांक बढेर २४७ पुगेको थियो। उक्त स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।
आज भने प्रदूषण घटेर एक्युआइ ७९ पुगेको छ। जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ। गत साता काठमाडौं विश्वको पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएकामा आज भने २६औं स्थानमा सूचीकृत भएको एक्युआइको तथ्यांकमा उल्लेख छ।
एक्युआइको मापदण्डअनुसार ०-५० सम्म ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५१-२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायुप्रदूषण नियन्त्रण भएको बताए।
“लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ”, उनले भने, “साथै छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ।”
प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।







डिसी नेपाल







Facebook Comment