रोल्पा जीप दुर्घटना : मृतक संख्या २० पुग्यो

डिसी नेपाल
१७ वैशाख २०८३ १९:४५

रोल्पा। रुकुम पूर्वबाट रोल्पाको थबाङस्थित प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।

पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेला भर्न र पूजाआजा गर्न हिँडेका तीर्थयात्री सवार उक्त जीप बिहीबार साँझ थबाङ गाउँपालिका–१, जलजला क्षेत्रको भीरबाट खसेर दुर्घटनामा परेको हो।

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टाकुराबाट छुटेको उक्त जीप थबाङ र जलजलाको सिमानामा पर्ने अप्ठ्यारो भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा १७ जनाको तत्कालै मृत्यु भएको थियो भने थप तीन जनाको उद्धारका क्रममा र उपचारका लागि लैजाँदै गर्दा ज्यान गएपछि मृतकको संख्या २० पुगेको हो। ज्यान गुमाउनेहरूमा अधिकांश रुकुम पूर्वको सिस्ने-५ टाकुरा क्षेत्रका बासिन्दा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटना भएको क्षेत्र निकै दुर्गम र भिरालो भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। थबाङ र उवाबाट खटिएको प्रहरी टोली तथा स्थानीय बासिन्दाहरू उद्धार कार्यमा सक्रिय छन्।

वर्षाका कारण सडक चिप्लो भएको र कुहिरो लागेका कारण भिजिबिलिटी कम हुँदा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घाइतेहरूको उद्धार गरी थबाङस्थित स्वास्थ्य केन्द्र र थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने क्रम जारी छ। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने त्रास रहेको स्थानीयले बताएका छन्। भौगोलिक विकटता र सञ्चार सम्पर्कमा समेत समस्या रहेकाले घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुलाउन केही समय लाग्ने देखिएको छ।

यो हृदयविदारक घटनापछि रुकुम पूर्व र रोल्पामा शोकको लहर छाएको छ। मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको प्रभावकारी उपचारका लागि स्थानीय प्रशासन र सरकारसँग माग गरिएको छ।

दुर्गम पहाडी भेगमा सडकको दुरवस्था र मौसमी प्रतिकूलताका बाबजुद क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण यस्ता भयानक दुर्घटनाहरू हुने गरेको भन्दै सुरक्षा सतर्कता अपनाउन सरोकारवालाले जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *