लघुकथा : अधिकार
‘घुस ख्वाउनु पर्ने हो? कविता पोष्ट गर्न। स्तरीयताको नाममा साहित्यकारको घाँटी निमोठ्ने?” मैले सम्पादकलाई म्यासेञ्जरमा आक्रोश पोखें।
कविज्यू, कविताको चाप बढी छ। पालो त कुर्नै पर्छ। तपाईंको कविता डेस्कमा पुगेको छ। केही दिनमा प्रकाशन हुने छ। हामी स्तरीयतालाई हेर्छौं। १०-१५ दिन भित्र प्रकाशन नभए तपाईंको कविता आयोग्य भएको बुझ्नु होला।” सम्पादकले म्यासेञ्जरमै जवाफ फर्काए।
म ६३ वटा अनलाइन फलो गरिरहेको छु। दुई-तीन वटा अनलाइनले स्तरीयताको घाँडो झुण्डुयाएर मेरो कविता पोष्ट गर्न आनाकानि गर्छन्। अन्यथा अरुले पोष्ट गरिरहेका छन्।
कवि बिना पारिश्रमिक कविता पठाउँछ। आफू मर्छ। अरुलाई बचाउँछ। केही अनलाइनले आश्वासन दिन्छन्। तर काम गर्दैनन्। आश्वासन पूरा नगर्ने अनलाइनलाई खेद प्रकट बाहेक अरु के नै गर्न सकिन्छ र?
म विगत ४० वर्षदेखि लेखिरहेको छु। कविता, कथा र लघुकथा मेरा लेखनका क्षेत्र हुन्। कवितामा जति खुल्न सक्छु, कथा र लघुकथामा त्यति खुल्न सकिरहेको छैन म। मेरो साहित्यक यात्रा कविता लेख्नबाटै भएको हो। म कविता एकै बसाइमा लेख्न सक्छु।
साहित्य सृजना गरेर हामी कहाँ जीविका चल्दैन। साहित्यकारलाई कसैले गन्दैन। भ्रष्टहरुको बिगबिगी भएको ठाउँमा सफेदहरुको गन्ती हुँदैन। साहित्य देशको धुकधुकी हो भन्दै साहित्यकारहरुको अपमान गर्ने संस्कृतिबाट हुर्किएका प्रशासक र नेताहरुको सुद्धि नफिरेसम्म साहित्य मुर्झाइ रहने छ। साहित्यकारहरु प्रताडित भै रहने छन्।
हामी किन दास र भाट हुने? साहित्यकारहरुले आफ्नो अधिकार खोज्ने कि?
No ads found for this position


Facebook Comment